यो साताको सेयर बजारमा पहिलो दिन नै ६ प्रतिशत बढ्दा सर्किट ब्रेक लागेर कारोबार बन्द भयो । त्यसपछिका दिनमा सामान्यः उतारचढाव देखिए पनि बजारले ठूलो ‘करेक्सन’ लिएको छैन । आइतबार नै १११ अंक बढेपछि सोमबार १५ अंक घटेको बजार मंगलबार नै ३७ अंक बढ्यो । बुधबार ३ र बिहीबार ६ अंक बढेपछि यो साता १९९४ विन्दुमा सेयर बजार बन्द भएको छ, गत साता १८५२ विन्दुमा थियो ।
समग्रमा यो साता बजार ७.६ प्रतिशत अर्थात् १४२ अंक बढेको छ । सेयर बजारको अंक मात्रै होइन, कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम दुई गुणाभन्दा धेरै बढेको छ । गत साता ५ दिन खुलेको बजारमा ७ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यो साता पनि ५ दिन नै कारोबार हुँदा १६ अर्ब ६७ करोडको कारोबार भयो ।






