भारतीय शेयर बजार आज फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबारकाे कारोबारको क्रममा, सेन्सेक्स ७१,०८४.०८ विन्दुमा र निफ्टी २१.३५५.६५ को विन्दु छोएकाे थियाे। यसअघि बिहीबार पनि सेन्सेक्सले ७०,६०२.८९ र निफ्टीले २१,२१०.९० को नयाँ रेकर्ड बनाएको थियो।
हाल, सेन्सेक्स ४०० अंकको वृद्धिको साथ ७०,९२० मा काराेबार भइरहेकाे छ । यसैगरी, निफ्टी ११५ अंकले वृद्धि भएर २१,३०० स्तरमा रहेकाे छ। सेन्सेक्सका ३० वटा स्टकमध्ये २७ वटा उकालो लागेको छ भने ३ वटा घटेको छ । सबैभन्दा बढी आईटी, रियल्टी र मेटलको शेयरमा बढेको छ ।
बजार उकालो लाग्नुको ४ कारण
भारतकाे शेयर बजार बढ्नुपछि ४ कारण मानिएकाे छ । पहिलाे कारण कच्चा तेलको मूल्यमा गिरावट हुनु रहेकाे छ । यसैगरी, विदेशी लगानीकर्ताले भारतीय बजारमा लगानी बढाइरहँदा पनि सेन्सेक्स र निफ्टी अल टाइम हाइमा पुगिरहेकाे छ ।
यससँगै, भारतको विदेशी मुद्रा सञ्चिति बढेसँगै बजार पनि बलियो भएको छ । अर्काे कारण फेडले लगातार तेस्रो पटक ब्याजदर स्थिर राख्दा भारतकाे शेयर बजार सकरात्मक भएकाे हाे ।
यस वर्ष हालसम्म बजारमा १६ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । वर्षको सुरुवातमा अर्थात् जनवरी २ मा सेन्सेक्स ६१,१६७ विन्दुमा रहेको थियो । जुन याे वर्षकाे डिसेम्बर १५ मा ७१,०८४ विन्दु पुगेको छ। अर्थात् यो वर्ष अहिलेसम्म सेन्सेक्स १६ प्रतिशतभन्दा बढी अर्थात् ९,९१७ अंकले बढेको छ । विज्ञहरूका अनुसार यो वृद्धि भविष्यमा पनि जारी रहनेछ ।






