काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक नीति क्रमिक रुपमा सुधार हुँदै आएको जनाएको छ । आईएमएफका मिसन चिफ टिडिएन किन्डाले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारले कठिन अवस्थामा पनि आर्थिक नीतिमा सुधार गरिरहेको बताएका हुन् । कोभिड महामारीका क्रममा लचिलो मौद्रिक नीतिमार्फत बजारमा अत्यधिक तरलता विस्तार भएपछि बाह्य क्षेत्र प्रभावित भई मौद्रिक व्यवस्थापनमा कठिन भएको थियो ।
यद्यपि, त्यसको सुधारका लागि त्यसपछिको कडा मौद्रिक नीतिमार्फत सुधार गरी अर्थतन्त्रलाई सही लयमा फर्काउन पहल गरिएको उनले बताएका छन् । नेपालको पर्यटन क्षेत्रमा सुधार आएपछि त्यसको प्रत्यक्ष प्रभावले बाह्य क्षेत्र व्यवस्थापन सहयोग पुगेको मिसन चिफ किन्डाले बताएका छन् । आगामी दिनमा अर्थ मन्त्रालयले वित्तीय अनुशासन कायम गर्दै जिम्मेवारीपूर्वक काम गर्नुका साथै राष्ट्र बैंकले समेत वित्तीय क्षेत्रको स्थायित्वका लागि काम गर्नु पर्ने किन्डाको सुझाव छ ।






