काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज लि.मा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको शेयरको लक इन अवधिसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लि र सबै सूचीकृत संगठित संस्थालाई बोर्डले लक इन पिरियड कार्यान्वयनबारे नयाँ निर्देशन दिएको हो ।
सेबोनले लक इन अवधि सम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न, सर्वसाधारण लगानीकर्ताहरूलाई समेत सो सम्बन्धमा जानकारी प्राप्त हुने व्यवस्था गर्न तथा धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यबस्थित तथा पारदर्शी बनाउन आवश्यक देखिएको जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८७ बमोजिम व्यवस्था गर्न गराउन नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि. र सम्पूर्ण सूचीकृत संगठित संस्थाहरूलाई निर्देशन दिइएको बोर्डका उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीले जानकारी दिएका हुन् ।






