काठमाडौं : बुकबिल्डिङमार्फत जारी भएको पहिलो आईपीओ खरिद गर्न सर्वसाधारणले कम्तीमा १८ हजार रुपैयाँ जोहो गर्नुपर्ने भएको छ। १ हजार रुपैयाँमा १० कित्ता पाउने गरेकामा यो विशेष प्रक्रियामार्फत जारी आईपीओका लागि १८ गुणा बढी रकम चाहिने भएको हो।
प्रिमियम मूल्यमा खुलेका आईपीओका लागि सर्वसाधारणले प्रतिकित्ता ४ सय ३५ रुपैयाँसम्म तिरेका थिए। अर्थात् १० कित्ताका लागि साढे ४३ सय रुपैयाँ चाहिएको थियो। कानुनी व्यवस्थाअनुसार आईपीओ खुल्दा अहिले सर्वसाधारणले न्यूनतम १० कित्ता सेयर माग गर्न पाउँछन्। तर, बुक बिल्डिङमार्फत जारी हुने आईपीओमा भने कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ।






