काठमाडौं : अमेरिकी सेयर बजारमा विगत १ महिनादेखि निरन्तरजसो वृद्धि देखिएको छ। अमेरिकी सेयर बजारका प्रमुख तीन परिसूचक विगत १ महिनाको अवधिमा निरन्तर बढ्दा करिब ४ महिनायताकै उच्च विन्दुमा पुगेका छन् । गत अक्टोबर २७ को अन्तिम कारोबार विन्दुदेखि गत शुक्रबार नोभेम्बर २४ सम्मको कारोबारमा ‘एस एन्ड पी ५००’ सूचक १०.७६%, नासड्याक कम्पोजिट १२.७२% र डाउ जोन्स इन्डस्ट्रियल एभरेज ९.१७% ले बढेका छन् ।
एस एन्ड पी ५०० विगत १ महिनामा ४४२.९५ अंकले बढ्दा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार यो सूचक ४,५५९.३३ मा बन्द भएको थियो । जुन गत जुलाई २७ यताकै उच्च हो । यस्तै, अर्को सूचक नासड्याक कम्पोजिट पनि ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ । नासड्याक विगत एक महिनाको अवधिमा १,६०७.८४ अंकले बढेर शुक्रबार १४,२५०.८५ मा बन्द भएको थियो । जुन गत जुलाई २८ यताकै उच्च हो ।






