काठमाडौं : हाल करिब दर्जनभन्दा बढी जलविद्युत् कम्पनीहरूले प्रारम्भिक सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनका लागि आवेदन दिए पनि नेपाल धितोपत्र बोर्ड (सेवोन) ले रोकेको छ। तर बोर्डले यसमा कडाइ गर्न गत असोजमै छलफल भएअनुसार नीतिगत व्यवस्थाको तयारीमा जुटेकाले स्वीकृति दिएको छैन।
निष्कासित सेयर पुँजीको दुरुपयोग भएकाले यसलाई नियन्त्रण गर्न, संस्था मजबुत बनाउन र लगानीकर्ताको लगानी सुरक्षित गर्ने उद्देश्यले आईपीओ र हकप्रद सेयर निष्कासनमा कडाइ गर्न लागेको बोर्डको तर्क छ। यसबारे छिटोभन्दा छिटो नीतिगत व्यवस्थामा जुटेको छ।
यसै अनुरूप गत असोज ९ गते बोर्डका पदाधिकारी र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान) का पदाधिकारीबीच उक्त क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी बनाउन जोडदार छलफलसमेत चलेको थियो। उक्त छलफलले धितोपत्र दर्ता तथा निष्कासन नियमावली गर्ने संशोधनका विषयमा सहमतिसमेत गरेको थियो। तर यसमा जलविद्युत् कम्पनीका प्रतिनिधिहरू भने पूर्ण रूपमा सन्तुष्ट छैनन्।






