पछिलो समयमा लाभांश दिएका बैंकहरूमा सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई ५.७९ प्रतिशत नगद लाभांश र एनआईसी एसियाले २९ प्रतिशत बोनस सेयर दिएपछि नगद लाभांश राम्रो कि नगद लाभांश राम्रो भनेर चर्चा चलेको थियो । बोनस सेयर र नगद लाभांशको चक्करले सेयर बजारमा समेत असर पर्ने गरेको छ । यसले सेयर बजारमा उतारचढाव देखिने गरेको छ । कतिपयको भनाइमा बोनस सेयर राम्रो भन्ने छ भने कतिपयले नगद लाभांश नै राम्रो भन्ने गरेका छन् । कतिपयले दुवै मिलाएर दिए राम्रो पनि नभनेका होइनन् । यस्तो चर्चा पब्लिक कम्पनीहरूले लाभांश बाँड्ने सिजन सुरु भएपछि लगानीकर्ताहरूमाझ चल्ने गरेको छ । पब्लिक कम्पनीहरूद्वारा एक आर्थिक वर्ष समाप्त भएपछि कम्पनीको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने गरिन्छ । सेयर बजारमा डे टु डे व्यापार गर्ने लगानीकर्ता, विज्ञ विश्लेषक र सेयर बजारसम्बन्धी जानकारहरूको भनाइमा नगद लाभांश राम्रो भन्ने रहेको छ ।






