काठमाडौं : भारतको सेयर बजार नियामक ‘सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले प्राविधिक गडबडीबाट उत्पन्न हुने जोखिमबाट लगानीकर्ताको सम्पति सुरक्षा गर्न नयाँ प्लेटफर्मको सुरुवात गरेको छ । बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) सहित भारतका स्टक एक्सचेन्जहरुले संयुक्त रुपमा ‘इन्भेष्टर रिस्क रिडक्सन एक्सेस (आइआरआरए)’ नामक प्लेटफर्म विकास गरेका हुन् ।
उक्त प्लेटफर्म सेबी अध्यक्ष माधवी पुरी बुचले सोमबार सार्वजनिक गरेकी हुन् । आइआरआरए प्लेटफर्मले केही प्राविधिक त्रुटिहरुको कारण लगानीकर्ताहरुले सामना गर्ने जोखिम कम गर्न मद्दत गर्ने बताइएको छ । सेबीमा दर्ता भएका कारोबार सदस्य वा स्टक ब्रोकरहरुले सामना गरेको प्राविधिक गडबडीको अवस्थामा ‘आइआरआरए’ ले लगानीकर्ताहरुको लागि एक ‘सुरक्षा जाल’ को रुपमा काम गर्नेछ ।






