आईपीओ र हकप्रदले सेयर आपूर्ति बढाई सेयर मूल्यमा गिरावट आएकोले यस्ता वित्तीय उपकरण जारी गर्ने कार्य रोक्नुपर्ने आवाज उठिरहेको छ। नेपाल धितोपत्र बोर्डले तत्काल आईपीओ र हकप्रद तत्काल दर्ता नगर्ने तथा दर्ता भएकालाई पनि स्वीकृति नदिने चर्चा छ। तर बोर्डले आईपीओ दर्ता भने गरिरहेको छ।
वित्तीय रूपमा कमजोर कम्पनीलाई आईपीओ र हकप्रद स्वीकृति दिएको भन्ने प्रसंग पनि आएका छन्। विश्व लगानीकर्ता सप्ताह, २०८० मनाउने कार्यक्रमको सिलसिलामा बोर्डका अध्यक्ष रमेशकुमार हमालले ‘कमजोर कम्पनीले नै हकप्रद जारी गर्ने हो’ भन्ने टिप्पणी गरेका थिए। उनले गरेको टिप्पणीमाथि प्रतिटिप्पणीको ओइरो लागेको थियो। हकप्रद जारीका लागि अनुमति किन मागिन्छ ? हकप्रद ल्याउनमा बोर्डको के भूमिका हुन्छ ? हकप्रद सम्बन्धमा बोर्डले थप के गर्न आवश्यक छ ? लगानीकर्ताको के भूमिका हुन्छ ? कम्पनी सञ्चालक समितिको कस्तो भूमिका हुन्छ ? यी र यस्तै प्रश्नको उत्तर र आईपीओ रोक्न मिल्छ कि मिल्दैन ? भन्ने विषयमा यस आलेखमा चर्चा गरिएको छ।






