भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा १.३६ गुणा बढी आवेदन परेकाे छ । कम्पनीकाे आईपीओमा पहिलाे दिन नै २ लाख १८ हजार २१३ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीकाे २८ लाख ४१ हजार ८ सय ९० कित्ता शेयर माग गरिएकाे छ । भिजन लुम्बिनीले २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २० प्रतिशतका दरले हुन आउने ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३५ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १९ लाख १२ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो। त्यसैगरी, कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।






