काठमाडौं : सेयर बजार सुस्त हुनेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से सूचक ५.८३ अंकले घटेर १८५८.५६ विन्दुमा आएर अडिएको छ । ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । इन्भेष्टमेन्टबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।
अन्य कुराहरुको अतिरिक्त लगानीकर्ताको मनोबल कमजोर हुनु नै सेयर बजारले गति लिन नसक्नुको प्रमुख कारण मानिएको छ । लामो समयदेखि थलिएको बजार माथि जान नसक्दा आम लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहेका छन् ।
ठूला र संस्थागत लगानीकर्ता बजार प्रवेश नगर्नु, कम्पनीहरुको लाभांश दर औसतमात्र रहनु अनि अनि नीतिगत अवरोध जारी रहनु नै बजार प्रभावित हुनुका थप कारण हुन् । यस्तै, ब्याजदर घट्दोक्रममा रहे पनि अझै लगानीकर्ताले खोजे अनुसार सस्तो मूल्यमा कर्जा नपाउनु बजार प्रभावित हुनुका थप कारण मानिएका छन् ।






