काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओ बिहीवार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले कात्तिक १६ गते बिहीवार बाँडफाँड हुने बताएको हो ।
सो कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो । जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँड भएको कम्पनीले जनाएको छ ।
त्यस्तै, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीका अनुसार, ‘आइपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६ सय ४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका थिए । उक्त माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९ सय ३० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।’






