काठमाडौं : चाडपर्वको माझमा सर्वसाधारणलाई राम्रा कम्पनीको सेयरधनी बन्ने राम्रो मौका जुरेको छ। नेपाल धितोपत्र बोर्डबाट कात्तिक १ गते आईपीओ निष्कासनको अनुमति दिएका दुई कम्पनीसँगै निकट भविष्यमै अनुमति पाउन लागेका कम्पनीमा लगानी गर्ने अवसर मिल्न लागेको हो।
दसैंको मुखैमा आईपीओ निष्कासनको अनुमति पाएको हिमालयन रिइन्स्योरेन्सले कात्तिक २१ गतेदेखि आईपीओ जारी गर्दैछ भने इतिहासमै पहिलोपल्ट बुक बिल्डिङमार्फत सर्वोत्तम सिमेन्टको आईपीओमा लगानी गर्न पाइने भएको छ। यसबाहेक डेढ दर्जन बढी कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड समक्ष पुगेका छन्।
हिमालयन रिले प्रतिकित्ता २ सय ६ रुपैयाँको प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो भने बुक बिल्डिङका लागि सर्वोत्तमले प्रतिकित्ता ४ सय १ रुपैयाँदेखि ६ सय १ रुपैयाँ ५० पैसा रेन्ज पाएको छ। ती यी कम्पनीहरूले करिब १३ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति मागेका छन्। पाइपलाइनमा रहेका २० कम्पनीमध्ये रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङका लागि अनुमति मागेको छ भने जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने बताएको छ। रिलायन्सको प्राइस रेन्ज प्रतिकित्ता ६ सय ८ रुपैयाँदेखि ९ सय १२ रुपैयाँ छ। अन्य कम्पनीले भने प्रतिकित्ता सय रुपैयाँमै आईपीओ जारी गर्ने भनेका छन्।






