दोस्रो बजारमा ९ महिनापछि ‘नबिल’ ले ‘निका’ लाई पछि पारेको छ। ‘नबिल’ अर्थात नबिल बैंकको शेयर र ‘निका’ अर्थात एनआईसी एशिया बैंकको शेयर। एनआईसी एशिया बैंकको बोनस शेयर वितरणको लागि शेयरमूल्य समायोजन भई मूल्य घटेपछि नबिल बैंकले जितेको हो।
बुधबार 'नबिल' प्रतिकित्ता ५८४ रुपैयाँमा अन्तिम काराेबार भएकाे छ भने ‘निका’ प्रतिकित्ता ५७३ रुपैयाँमा अन्तिम काराेबार भएकाे छ। एनआईसी एशिया बैंक (NICA) ले गत आर्थिक वर्षकाे कमाइबाट शेयरधनीलाई २९ प्रतिशत बोनस वितरण गर्न मंगलबार बुकक्लोज गरेको थियो। यसले गर्दा उसको शेयरमूल्य समायोजनपश्चात प्रतिकित्ता ५९० रुपैयाँमा झरेको थियो। बुकक्लोजपश्चात मंगलबार उसको शेयरमूल्य थप घटेको हो।
एनआईसी एशिया बैंक र नबिल बैंकबीच पहिलेदेखि नै शेयरमूल्यमा निकै प्रतिस्पर्धा हुने गरेको छ। बैंकिङ उपसमूहमा एक वर्ष अघिसम्म ‘नबिल’ सबैभन्दा धेरै मूल्य भएकाे स्टक थियो। नबिल बैंकले गत वर्ष लाभांश वितरण गर्दा उसको मूल्य समायोजन भएर तल झर्यो तर एनआइसी एशिया बैंकले लाभांश वितरण नगरेको कारण उसको शेयरमूल्य समायोजन भएन र 'नबिल' लाई उछिन्यो।






