काठमाडौं : सेयर बढ्दा लगानीकर्तालाई लाभ हुन्छ, यो त सर्वमान्य सिद्दान्त नै भयो। सेयर घट्दा पनि लाभ हुन्छ भन्दा पत्याउनुहुन्न होला। तर, सेयर बजारमा यस्तो पनि हुन्छ। जहाँ सेयर घट्यो भनेर ‘होल्ड’ गरेर राख्ने लगानीकर्ता देखि सेयर ‘सापटी’ लिने लगानीकर्तालाई पनि नाफा हुन्छ। नेपाली सेयर बजारमा भने यस्तो औजारको प्रयोग भइसकेको छैन। तर, निकट भविष्यमा धितोपत्र बोर्डले यस्तो औजारको विकास गर्न लागेको छ।
कम्पनीको मूल्य वा बजार परिसूचक बढ्दा लगानीकर्तालाई लाभ हुन्छ र घट्दा लगानी गुम्छ, घाटा बेहोर्नुपर्छ। सेयर लगानीकर्ताहरू सधैं बजार बढोस् भन्ने चाहना राख्छन्। सस्तैमा सेयर बेच्ने एकाधले मात्र आफूले बेचेको मूल्यभन्दा तल मूल्य झरोस् र आफूले सेयर थप्न सकुँ भन्ने चाहना राख्छन्। सेयरको भाउ घटोस् भन्ने चाहना राख्ने लगानीकर्ता नभएकाले हालको बजार परिसूचकलाई ‘अपूरो’ भनिन्छ।






