काठमाडौं : सेयर धितोमा राखेर लिइने कर्जामा नेपाल राष्ट्र बैंकले सीमा तोकेका कारण पनि पुँजीबजारमा पछिल्लो दुई वर्ष गम्भीर गिरावट आयो। २०७८ भदौ २ गते हालसम्मकै उच्च बिन्दु ३१९८ मा पुगेयता नेप्से करिब १४ सय अंकले घटेर १८१८ अंकमा झरेको थियो। अहिले नेप्से परिसूचक २००० अंकको हाराहारीमा छ। अर्थात् परिसूचक र पुँजीकरणको हिसाबमा लगानीकर्ताले एक तिहाइभन्दा बढी सम्पत्ति गुमाएका छन्।
आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ४/१२ करोड रुपैयाँको सीमा लगाएर सेयर बजारलाई कस्ने प्रयास गरेको थियो। जसमध्ये ४ करोडको सीमा एक वर्षअघि नै हटाइए पनि १२ करोड रुपैयाँको क्याप अझै हटेको छैन। अहिले १२ करोड रुपैयाँको सीमा पनि हटाएर खुला गरिनुपर्ने चौतर्फी दबाब छ। यसबारे अर्थमन्त्री डा. प्रकाशशरण महत पनि कन्भिन्स छन्।






