सुवास निरौला
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचीकरणको समय घटाउने भएको छ। प्राथमिक शेयर निष्कासन गरेका कम्पनीको सूचीकरण समय घटाउन लागेको हो। नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ संशोधन गर्दै उक्त व्यवस्था गर्न लागेको हो।
यस अघि कुनै पनि कम्पनीले प्राथमिक शेयर निष्कासन गरेर सूचीकरणको लागि निवेदन दिएको तीस दिन भित्र सूचीकरण गर्नु पर्ने व्यवस्था थियो। विनियमावलीको विनियम ५ मा निवेदन उपर जाँचबुझ सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थाको (२) मा “उप विनियम (१) बमोजिम विवरण तथा कागजात उपर जाँचबुझ सम्पन्न गरी निवेदन प्राप्त भएको मितिले सामान्यतया तीस दिन भित्र धितोपत्रको सूचीकरण सम्पन्न गर्नु पर्नेछ” विनियमावलीमा उल्लेख छ। सो व्यवस्थालाई परिवर्तन गर्दै नेप्सेले उक्त समय घटाएर सात दिन गर्ने भएको छ। अहिले निवेदन दिएको तीस दिन भनिएको छ। तर त्यसलाई निवेदन दिएको समय वा बाँडफाँट भएको दिनबाट सात दिन गर्ने भन्ने विषयमा भने बोर्डमा छलफल चलिरहेको छ। “पहिलेको नियममा निवेदन दिएको सात दिन भित्र भनिएको छ। अब त्यो समय छोटिँदै छ। अहिले प्रविधिले गर्दा त्यति धेरै समय राख्नु पर्ने अवस्था छैन। प्रविधि समेत प्रयोग हुने भएकोले बाँडफाँट भएकै दिनको सात दिन गर्ने कि भन्ने कुरा चलेको छ” बोर्डका एक कार्यकारी निर्देशकले मेरो लगानीसँग भने।






