हाथवे इन्भेष्टमेण्ट नेपाल लि. ले आफ्नो कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा ग्लोबल आइएमई क्यापिटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा मिति २०८० असोज ७ गते आयोजना गरिएको एक कार्यक्रममा इन्भेष्टमेण्ट कम्पनी र क्यापिटल बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा इन्भेष्टमेण्ट कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री संदिप शाह र क्यापीटलको तर्फबाट नि.प्रमुख कार्यकारी अधिकृत श्री नलिना श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनी नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ र हाल कम्पनीको अधिकृत पुँजी रु.१५० करोड तथा जारी तथा चुक्ता पुँजी रु.११७ करोड रहेको छ । यस कम्पनीले सर्वसाधारण समुहतर्फ छुट्याइएको १२.५ प्रतिशतले हुने २९,२५,००० कित्ता शेयर प्रति कित्ता अंकित मूल्य रु.५०।– का दरले हालै मात्र सार्वजनिक निष्काशन गरी बाँडफाँट समेत गरिसकिएको छ । मिति २०८०/०५२१ गतेदेखि मिति २०८०/०५/२५ गतेसम्म सर्वसाधारणको लागि शेयरको निष्काशन तथा बिक्री खुल्ला भएको यस कम्पनीको सार्वजनिक निष्काशनमा सर्वसाधारण लगानीकर्ताहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।
नेपालका ख्याती प्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समुहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले नेपालको पूँजी बजार र लगानीका अन्य क्षेत्रहरुमा लगानी गरी आफुलाई एक सफल इनभेष्टमेन्ट कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । यस कम्पनीले पुँजी बजारको अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वः पूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको छ ।






