विद्यार्थीले आफ्नो रुचि, योग्यता, क्षमता, दक्षता के हो त्यसको पहिचान गरी एसइईपछिको यात्रा तय गर्नुपर्छ । कुन क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने लाग्छ, त्यसअनुसार विषय छनोट गर्नुपर्छ । अहिले पनि नेपालमा ए, ए प्लस आएका विद्यार्थी साइन्स, बी प्लस आउने व्यवस्थापन, त्यसपछि मानविकी र शिक्षा पढ्ने चलन छ । एसइईमा आएको ग्रेडले आगामी दिनमा पढ्ने विषय छुट्याउनु हुँदैन । ग्रेडले होइन, रुचिले विषय छान्नुपर्छ । एउटा विद्यार्थीको रुचि बैंकको सिइओ बन्छु भन्ने छ, ए वा ए प्लस आयो भनेर साइन्स पढ्यो भने त्यो राम्रो हुँदैन । कसैलाई होटेलको म्यानेजर बन्ने रुचि छ तर साइन्स पढ्यो भने सफल हुन सक्दैन । उसको रुचिअनुसार म्यानेजमेन्ट पढ्नु राम्रो हुन्छ । एउटा व्यक्तिलाई इंग्लिसमा राम्रो कमान्ड गर्ने व्यक्ति बन्छु भन्ने छ तर मानविकी छाडेर अर्कै विषय पढ्यो भने परिणाम राम्रो हुँदैन ।
नेपालमा उपलब्ध विषय तथा कार्यक्रम कस्ता छन् भन्ने पनि ख्याल गर्नुपर्छ । अहिले प्लस टु, आइबी, ए लेभल, सिबिएसई, सिटिइभिटीको कार्यक्रम उपलब्ध छन् । यी कार्यक्रममा किन जाने भन्ने पहिले स्पष्ट हुनुपर्छ । कुन कार्यक्रममा कस्ता विषय छन्, कति खर्च लाग्छ, कहाँ पढ्न पाइन्छ, आफू त्यसमा जान योग्य हो कि होइन, उपयुक्त हो कि होइन, विश्लेषण गर्नुपर्छ । तत्काल कमाउन लाग्ने हो भने सिटिइभिटीका कार्यक्रम उपयुक्त हुन सक्छन् । होइन भने प्लस टु राम्रो हुन सक्छ ।
कलेज छान्ने पाटो तय गर्नुपर्छ । कलेज छनोट गर्दा धेरै पक्षलाई ध्यान दिनुपर्छ । कतिपयले अस्वस्थ विज्ञापन प्रकाशित गरेको पनि पाइन्छ । विज्ञापनका आधारमा भर्ना हुनुहुँदैन । विज्ञापन गर्दा ठीक सूचना दिनुपर्छ । विद्यार्थीले कलेज पुगेपछि उसको भिजन, मिसन, उद्देश्य, स्थापनाको वर्ष, कलेजले प्रतिबद्धता जनाएअनुसारको कार्यान्वयन भयो कि भएन भन्ने पक्षको अध्ययन गर्नुपर्छ । कतिपय शैक्षिक संस्थाले अरूको नक्कल गरेर नारा लेखेका हुन्छन् । कक्षा ११ र १२ बाहेकका कक्षा सञ्चालन गरेको छैन, तर विश्वविद्यालयको स्थापना गर्ने विषय उठाएको हुन्छ । विश्वविद्यालय स्थापनाको पूर्वाधार तयार गरेकाले तय गरेको नारा अरूले नक्कल गरेको पाइन्छ ।
कक्षा ११ र १२ विद्यालय शिक्षा मात्र होइन, पूर्वविश्वविद्यालय शिक्षा पनि हो । यसले विद्यार्थीको भविष्य कता डोर्याउने भन्ने निक्र्योल गर्छ । त्यो निर्धारण गर्ने हुनाले धेरै संयमित भएर सोच्नुपर्छ । स्कुल–कलेज दुई–चार वर्ष चल्छन्, त्यसपछि विद्यार्थी–अभिभावकले खोज्दा हराउने समस्या पनि छ । शैक्षिक संस्थाको स्थायित्व पनि हेर्नुपर्छ । कुनै व्यापारीले चलाएको हो भने नाफा हुन्जेल चलाउँछ, कम भएपछि बेच्छ । यसले स्थायित्वमा प्रश्न उठाएको छ । विद्यार्थीलाई चाहिने आवश्यक पूर्वाधार हेर्नुपर्छ । त्यसैगरी विद्यार्थीले एकेडेमिक पर्फमेन्स र रिजल्ट पनि हेर्नुपर्छ । शैक्षिक संस्थाले कस्तो कल्चर भएको विद्यार्थी उत्पादन गरेको छ, त्यो पनि हेर्नुपर्छ । शिक्षा सबैले दिएका हुन्छन्, तर ज्ञान, सीप, सिर्जना, सोच्ने क्षमता कत्तिको दिन्छ भन्ने हेर्नुपर्छ । एउटा समग्र विकासका लागि समेत वातावरण सिर्जना भएको हुनुपर्छ । कसलै केही रुचिका आधारमा एक नम्बर कलेज भन्दिन्छ, त्यो पत्याउने वातावरण छैन । कसैबाट प्रभावित भएको नम्बरिङको अर्थ छैन । विकृतिका पछि लाग्नु हुँदैन ।
शैक्षिक संस्था पनि इमानदार बन्नुपर्छ । अनुगमन गर्ने निकायले पनि आग्रहपूर्ण तरिकाले कतिपय विकृतिबारे बेवास्ता गरेका छन् । सबैलाई एउटै सिस्टम हुनुपर्ने, त्यो छैन । नियमन गर्ने निकाय नै नतमस्तक छन् । गुणस्तरीय शिक्षा प्रदान गर्ने र त्यहीअनुसारको रिजल्ट आएमा अरू समस्या रहँदैन ।
एउटा विद्यार्थी सचेत नागरिक पनि हो । ऐकेडेमिक पर्फमेन्स चाहिन्छ नै, त्यससँगै समाज, देश, उत्तरदायित्व बुझ्नुपर्छ । त्यति मात्र होइन, खेल, गीत, संगीत तथा साहित्यमा पनि रुचि हुनुपर्छ । स्कुल, कलेज सबैको फूलबारी हो । कसैलाई गाउन, कसैलाई नाच्न इच्छा होला, कसैको इच्छा रोक्नुहुन्न, तर कुन समय यस्तोमा सहभागिता जनाउने, कुन समयमा पढाउने भन्ने सन्तुलन हुनुपर्छ । एउटा विद्यालय, जहाँ विद्यार्थीलाई जाऔँ, जाऔँ लाग्ने बनाउनुपर्छ । बिदाको दिन पनि स्कुल–कलेज जान पाइएन भन्ने गुनासो गर्ने वातावरण बनाउनुपर्छ ।
परिवर्तन गर्नुपर्ने विषय
अहिले ९ देखि १२ कक्षालाई माध्यमिक तह भनिएको छ । कक्षा १० र ११ मा ठूलो ग्याप छ । ग्यापलाई क्रमशः पूरा गर्दै जानुपर्छ । एकदेखि १० सम्मको कोर्स र ११ को कोर्स अलिकति मिलेको छैन, त्यो मिलाउनुपर्छ ।
कस्तो अपेक्षा ?








