काठमाडौं : पछिल्लो केही दिनयता भारतीय सेयर बजारले दैनिक नयाँ अल टाइम हाई रेकर्ड बनाउन थालेको छ । शुक्रबार भारतका प्रमुख सेयर बजार सूचकहरु ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवै इतिहासकै उच्च विन्दुमा बन्द भएका छन् । सेन्सेक्स यस दिन ३१९ अंकले बढेर ६७,८३८ विन्दुमा बन्द भएको छ । यस्तै, ‘निफ्टी ५०’ पनि ८९ अंकले बढेर २०,१९२ को रेकर्ड विन्दुमा बन्द भएको हो ।
त्यसो त, इन्ट्रा डे कारोबारमा सेन्सेक्स ६७,९०९ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो भने निफ्टी पनि २०,२१६ को रेकर्ड विन्दुसम्म पुगेको थियो । शुक्रबारसमेत गरी सेक्सेक्स सूचकमा लगातार ११औं दिन वृद्धि भएको हो । सेप्टेम्बर महिना सुरु भएयता सेन्सेक्स एक दिन पनि घटेको छैन । सेन्सेक्सको यो वृद्धि यात्रा सन् २००७ को अक्टोबर महिनायताकै सबैभन्दा लामो हो ।






