काठमाडौं । विगत केही साता निरन्तर घटेको नेपालको धितोपत्र बजार यो साता भने ७४ दशमलव ६१ अंकले माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ९३२ दशमलव ४५ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ७ दशमलव शून्य ६ विन्दुमा पुगेको हो ।
गत साता र यो साता एक दिन सार्वजनिक बिदा परेकाले चार कारोबार दिन मात्र बजार खुला भएको थियो । गत साता चार कारोबार दिनमा बजार एक कारोबार दिन मात्र बढेको थियो भने यो साता चार कारोबार दिनमा बजार एक दिन मात्र घटेको छ । यो साता पहिलो कारोबार दिन १० दशमलव २३ अंक र दोस्रो कारोबार दिन ४४ दशमलव ३० अंक बजार बढेको थियो । तेस्रो कारोबार दिन १९ दशमलव ४२ अंक घटेको बजार अन्तिम कारोबार दिन ३९ दशमलव ४८ अंक बढेर बन्द भएको छ ।






