काठमाडौँ — नवीनतम प्रविधिले ल्याएको वित्तीय जोखिम न्यूनीकरणका लागि वित्तीय साक्षरता अभिवृद्धि अपरिहार्य रहेको विज्ञहरूले औंल्याएका छन् । समावेशी आर्थिक विकासका लागि पनि वित्तीय शिक्षा आवश्यक रहेको उनीहरूको भनाइ छ ।
मुलुकमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा उनीहरूले यस्तो बताएका हुन् । दुई दिनसम्म चल्ने उक्त सम्मेलन धितोपत्र बोर्ड र वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था ओईसीडीद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो ।
पछिल्लो समयमा वित्तीय क्षेत्रमा बढ्दो प्रविधिले जोखिम न्यूनीकरणका लागि वित्तीय साक्षरता महत्त्वपूर्ण रहेको अर्थमन्त्री युवराज खतिवडाले बताए । सम्भावित जोखिम न्यूनीकरणका लागि पनि वित्तीय शिक्षा जरुरी रहेको उनले भनाइ थियो । नवीनतम प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा नयाँ समस्या सिर्जना गरेको जनाउँदै उनले भने, ‘नयाँ प्रविधिले चलेको बैंकिङ प्रणालीमाथि अझै पूर्ण विश्वास छैन ।’ त्यस्ता कारोबारलाई विश्वसनीय र कम जोखिमपूर्ण बनाउन भुक्तानी विधि, विद्युतीय कारोबारलगायत विषयमा प्रभावकारी रूपमा नियमन गर्नुपर्ने बताए ।
सम्पत्ति शुद्धीकरणका मुद्दा अझै रहेको जनाउँदै उनले भने, ‘बाह्य वा आन्तरिक रूपमा मानिसले जानेर वा नजानेर सम्पत्ति शुद्धीकरणका मुद्दाहरू बढाइरहेका छन् ।’
यस्तै दिगो आर्थिक वृद्धिका लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरता बलियो आधार भएको अर्थमन्त्री खतिवडाले बताए । वित्तीय शिक्षाले वित्तीय उपकरकरणका साथै उपलब्ध साधनस्रोत अधिकतम सदुपयोग गर्न सिकाउने भएकाले दिगो आर्थिक वृद्धिका लक्ष्य प्राप्तिमा सहयोगी हुने उनको भनाइ थियो । मानिसलाई बच्चादेखि नै वित्तीय शिक्षा दिनुपर्ने उनले बताए । ‘म राष्ट्र बैंकको नेतृत्वमा रहँदादेखि नै यसको सुरुवात भएको छ,’ उनले भने, ‘यही कार्यक्रमअन्तर्गत केही विद्यालयमा म पनि पुगेको छु ।’








