हकप्रद शेयरको एमएसएस अलर्ट सन्देश पनि ५० प्रतिशतलाई मात्रै पुगेको देखिएको छ । हकप्रद शेयर निष्काशन गरेको नै थाहा नपाएर लगानीकर्ताले लाखौ गुमाउनुपरेको गुनासो आएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले हकप्रद शेयर निष्काशन गरिएको जानकारी एसएमएस मार्फत दिन शुरु गरेको थियो ।
‘पहिलो पटक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरको लागि एसएमएस पठाएका थियौं । कम्पनीले ७० हजार लगानीकर्ताको मोबाइल नम्बर उपलब्ध गराएकोमा ३८ हजारको मोबाइलमा मात्रै एसएमएस गएको देखियो ।–सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्यले भने– ‘एसएमएस नजानुमा धेरै जसो मोबाइल नम्बर नै गलत छ । कसैले ८ वटा मात्रै नम्बर दिएको छ, कसैले ल्यान्ड लाइन नम्बर राखेको छ, कसैले नम्बर नै राखेको छैन ।’ सिनर्जीपछि अपिपावरकाे पनि हकप्रद निष्काशनसम्बन्धी सूचना एसएमएसमार्फत दिएकाे थियाे ।
सीडीएससीले हकप्रद शेयर खुलेको जानकारी एसएमएस अलर्टमार्फत दिन थालेपछि धेरै लगानीकर्ताले यसको स्वागत गरेका छन् । एसएमएस अलर्ट स्वदेशमा रहेका लगानीकर्ताका लागि मात्रै हुनाले केही लगानीकर्ताले भने एसएमएससँगै इमेल एलर्ट पनि पठाउनुपर्ने बताएका छन् । पछिल्लो समय नेपालसँगै विश्वको कुनै पनि कुनामा रहेका नेपालीले नेपालको पुँजी बजारमा आवेदन दिन सक्छ । नेपालको स्वदेशी मोबाइल नम्बरमा पठाइने एसएमएसले नेपालमा रहेका नेपालीहरुलाई मात्र सन्देश जाने तर विदेशमा बस्नेलाई भने इमेल नै पठाउनुपर्ने तिनीहरुको माग छ । पछिल्लो समय धितोपत्र बोर्डले नै वैदेशिक रोजगारीमा जाने कामदारलाई सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशत कोटा छुट्याइदिएको छ । यो व्यवस्थाबाट वैदेशिक रोजगारमा रहने कामदार विशेष लाभान्वित हुने तिनीहरुको विश्लेषण छ ।
यता सीडीएससीका प्रमुख कार्यकारी अधिकृत आचार्य भने इमेल पठाउने प्रक्रिया एसएमएस जत्ति पनि प्रभावकारी नभएको बताए । ‘इमेलबाट हकप्रद निष्काशनको जानकारी एक मिनेटमा पठाउन सकिन्छ तर इमेल भने २० प्रतिशतमा पनि पुग्दैन ।’–सीडीएससीका प्रमुख कार्यकारी अधिकृत आचार्यले भने–‘सबै गलत इमेलको प्रयोग भएको छ । इमेल खाता नै नखोलिकन जथाभावी लेखिदिएका इमेल मात्रै छन् ।’ केही समय अगाडि इमेल पठाएर ट्रायल गरेर पनि हेरेको हो । सबै इमेलको डेमोन फेलर नै धेरै आएको देखियो । इमेल एलर्ट प्रभावकारी नदेखिएपछि त्यो आइडिया ड्रप गरिएको हो ।’






