काठमाडौं । धितोपत्रको दोस्रो बजार निरन्तर घट्दै जाँदा त्यसको प्रत्यक्ष असर सार्वजनिक निष्कासनका धितोपत्रमा परेको छ । बजार घट्दै जाँदा सूचीकृत धितोपत्रको मूल्यमा कमी आएसँगै सार्वजनिक निष्कासनका धितोपत्रमा लगानीकर्ताको आकर्षण कम देखिएको हो । पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउने साधारण शेयरबाहेक अन्य धितोपत्र बिक्न समस्या भएको विक्री प्रबन्धकहरू बताउँछन् ।
धितोपत्रको दोस्रो बजार घट्दै जाँदा राम्रा कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले साधारण शेयरबाहेक अन्य धितोपत्रमा लगानीकर्ताको आकर्षण कम भएको बुझाइ विक्री प्रबन्धकहरूको छ । जानकार लगानीकर्ता भने बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले लगानी कम भएको प्रतिक्रिया दिन्छन् । शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल पछिल्लो समय आर्थिक संकटको अवस्थामा सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेकाले लगानी घटेको बताउँछन् । सार्वजनिक निष्कासनले निरन्तरता पाउनु सकारात्मक पाटो रहे पनि अहिलेको अवस्थामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको तीव्रतालाई घटाउनुपर्ने फुल्लेलले सुझाए ।






