काठमाडौं– पछिल्ला दिनहरूमा सेयर बजारमा सुस्तता छाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिपछि बजार घट्दो क्रममा छ ।
नेप्से परिसूचक यो साता झनै घटेको छ । बजार झण्डै दुई महिनापछि दुई हजार विन्दुभन्दा तल झरेको छ । गत बिहीबार २०१३.९३ मा रहेको सेयर बजार यस साता भने घटबढ हुँदै १९९०.५९ मा सीमित भएको छ । बजारमा नेप्से परिसूचकमात्र घटेको नभई कारोबार रकम पनि क्रमशः घटिरहेको छ । यसलाई सेयर बजारमा सुस्तता आएको भन्न सकिने जानकारहरू बताउँछन् ।
यो साता चार दिनमात्रै सेयर कारोबार भयो । बिहीबार जनै पूर्णिमाका कारण सार्वजनिक बिदा परेकाले बुधबार नै साताको सेयर बजार बन्द भएको थियो । यो साताको कारोबारको अन्तिम दिन बुधबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.८२ अंकले घट्दै १९९०.५९ विन्दुमा रहन पुग्यो । अघिल्ला दिनका तुलनामा भने कारोबार रकममा यो दिन सुधार देखियो । बुधबार १ अर्ब १३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।






