लिडरसिपको लागि सबैभन्दा आवश्यक कुरा नै शिक्षा हो । नेपालमा औपचारिक शिक्षाको अन्तिम बिन्दुका रुपमा स्नातकोत्तर तहलाई लिने गरिन्छ । अझै हाम्रो देशको परिप्रेक्ष्यमा भन्ने हो भने महिलाहरुको लागि त जुनसुकै संकायमा स्नातक गरेपछि उनीहरुलाई शिक्षित मान्ने गरिएको छ । यसरी हेर्दा देशमा शिक्षित महिलाहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ । यद्यपि, वित्तीय साक्षरताको अभावले गर्दा हाम्रो समाजले प्रविधिमैत्री भएर उन्नतितर्फ अझै पाइला चाल्न सकिरहेको देखिँदैन ।
त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स इन लाइफ साइन्स बायोमा दीक्षित प्रणिता शर्मा बराल विगत ३० वर्षदेखि शैक्षिक गुणस्तरको अभियानमा सक्रिय नाम हो । सन् १९९२ देखि अध्यापन यात्रालाई निरन्तरता दिँदै आएकी नेसनल स्कुल अफ साइन्सेज निस्टको कार्यकारी निर्देशक र भक्तपुर निस्ट स्कुलको संस्थापक प्रिन्सिपल हुन् । उनै प्रणिता शर्मा बरालसँग नेपालको शैक्षिक पाठ्यक्रममा डिजिटल वित्तीय साक्षरताको आवश्यकता, महत्व र उपयोगितासँग सम्बन्धित रहेर गरिएको कुराकानीको सारसंक्षेप :
तीन दशकदेखि विद्यार्थीहरुको प्रत्यक्ष भविष्य जोडिएको यति ठूलो संस्थामा नेतृत्व गरिरहँदा वित्तीय साक्षरता सम्बन्धी तपाईंको अनुभव कस्तो छ ?
कुनै पनि व्यक्ति लिडरसिपको भूमिकामा रहनको लागि अनुभवका साथै एक्सन ओरिन्टेड पनि हुनु जरुरी हुन्छ । शिक्षकहरुमा अनुभव हुने र विद्यार्थीहरु एक्सन ओरिन्टेड हुने हुँदा हामीले पढाउने सवालमा पनि पाठ्यक्रम केन्द्रित मात्र नभएर समाजका समसामयिक वस्तुस्थितिको पनि उजागर गर्ने गरी शिक्षण गर्ने गर्दछौँ । जसमा सामाजिक चेतनाका कुराहरु, सामाजिक रुपान्तरण कुन कुन क्षेत्रमा भइरहेका छन् भन्ने कुराहरुको पनि जानकारी गराउने गर्दछौँ ।
सामान्यत हामीले सञ्चार, शिक्षा र स्वास्थ्यलगातका समाजका अन्य पाटाहरुसँग सम्बन्धित रहेर व्यावहारिक ज्ञान पनि दिने काम शिक्षणको सिलसिलामा गर्ने गरेका छौँ । हिजोआज मास कम्युनिकेसन वा सोसियल मिडियाको प्रभावमा हाम्रो समाज जकडिन पुगेको छ । यसले समाजको संवेदनामा ह्रास ल्याई मानिसलाई यान्त्रिकतातर्फ उन्मुख गराइरहेको सन्दर्भलाई पनि नकार्न सकिँदैन । तपाईँ हाम्रो घरका सम्पूर्ण सदस्यहरु बच्चादेखि ठूला अभिभावकको हात हातमा ग्याजेट हुने गरेको छ । पारिवारिक बजेट, खर्चको हिसाब किताब नराख्ने, कुनै योजना नै नबनाई देखासिकीको भरमा अस्वस्थ प्रतिस्पर्धामा लागेर विलासीका सामानहरु किन्ने काम बढ्दो मात्रामा रहेको छ ।
सामान्यत हामीले सञ्चार, शिक्षा र स्वास्थ्यलगातका समाजका अन्य पाटाहरुसँग सम्बन्धित रहेर व्यावहारिक ज्ञान पनि दिने काम शिक्षणको सिलसिलामा गर्ने गरेका छौँ ।
आजको दिनमा सामाजिक सञ्जालको दुरुपयोग व्यापक रुपमा हुने गरेको छ, यसको सकारात्मक र नकारात्मक प्रभाव दुवै रहेका छन् । तर, कुन चिज कसले हेर्ने ? कसरी प्रयोग गर्ने भन्ने कुनै रेस्टिक्सन नै छैन ।
सामाजिक सञ्जाललगायत अन्य अनलाइनको सही प्रयोगले हामीले सकारात्मक ज्ञानका साथै आर्थिक आयआर्जन पनि गर्न सक्दछौँ भने अर्कोतर्फ यसको जथाभावी असुरक्षित रुपमा चलाउनाले हामीले भ्रमका साथै आर्थिक नोक्सानी पनि बेहोर्नुपर्ने अवस्था रहेको छ । यसर्थ, आजको दिनमा एउटा घरको महिला आमा भनौँ या अन्य अभिभावक, विद्यार्थी र शिक्षक सबैलाई छुट्टाछुट्टै डिजिटल साक्षरताको आवश्यकता रहेको टड्कारो देखिन्छ ।
अचेल साना बच्चादेखि स्कुल कलेज लेवलका विद्यार्थीहरुमा डिजिटल लिटरेसीमा नै प्रतिस्पर्धा भइराखेको छ । तँभन्दा म जान्ने, तेरो मोबाइलभन्दा मेरो मोबाइल बढी मूल्यको, राम्रो फिचरका साथै धेरै एप ग्राफिक्स भएको जस्ता यावत कुराहरु हुने गरेको छ । तर, कहिलेकाहीँ यस्ता कुराहरुले फजुल खर्च त हुने नै भयो, त्योभन्दा पनि बढी मिसयुजका केसहरु धेरै हुने गरेको पाइन्छ ।
अहिले त पैसा पठाउने, पैसा पाउनेदेखि सूचना लिनेदिने सबै काम स्मार्ट फोनबाट नै हुने गरेको छ । अनलाइन साइटकै कुरा गर्दा कुन बयस्कले चलाउने साइट हो, कुन बच्चाहरुले चलाउने हो भन्ने विषयमा कसैको पनि ध्यान जान सकेको देखिँदैन । डिजिटलाइजेसनले आजको दिनमा सहजताका साथै जोखिम पनि भित्राइरहेको छ । यसमा सम्बन्धित सरोकारवाला, सबै शिक्षक, अभिभावक एवम् विद्यार्थीहरुलाई डिजिटल अवेरनेसको आवश्यकता देखिन्छ ।
पारिवारिक बजेट, खर्चको हिसाब किताब नराख्ने, कुनै योजना नै नबनाई देखासिकीको भरमा अस्वस्थ प्रतिस्पर्धामा लागेर विलासीका सामानहरु किन्ने काम बढ्दो मात्रामा रहेको छ ।
उमेरअनुसार विद्यार्थीहरुले अनुभव अँगाल्दै गए भने नै एउटा सुन्दर समाजको परिकल्पनालाई साकार पार्न सकिन्छ । तर, सानै उमेरमा जानी नजानी डिजिटल टेक्नोलोजीको प्रयोग ग¥यो भने परिणाम राम्रो निस्कँदैन । यसले साइबर क्राइमका घटनाहरु धेरै बढ्ने, ह्याकिङ हुने हुँदा हिजोआज एक अर्कालाई गाली गर्ने प्लेटफर्म नै स्थापित भइरहेको छ ।
वित्तीय साक्षरतालाई स्कुल कलेजकोे पाठ्यक्रममा समावेश नगर्दा विद्यार्थीहरुमा बचत एवम् खर्चको ज्ञान नभई उनीहरुले फजुल खर्च गरिरहेका हुन्छन्, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ?
यस किसिमको अवस्था धेरै नै छ । अहिलेको पाठ्यक्रममा कतिपय कुराहरु समावेश भएर पनि आएको त छ तर ती सबै कुरा पर्याप्त मात्रामा भने छैनन् । हामी त यस किसिमको वित्तीय साक्षरता शिक्षा कक्षा ९ देखि नै सुरु गर्नुपर्छ भन्ने पक्षमा छौँ ।
हामीकहाँ पढाइ हुने कुराहरु नै परीक्षा केन्द्रित हुने गरेको छ । सामाजिक सचेतना, मोरल साइन्सका कुराहरु नै कम पढाइने गरिन्छ ।
अहिले संशोधित एवम् परिवर्तित कक्षा ११ र १२ को पाठ्यक्रमको सामाजिक विषयमा डिजिटल लिटरेसीको सन्दर्भलाई पनि समावेश गरिएको छ । तर, यो विषय छनोट गर्न मिल्ने वैकल्पिक विषयको रुपमा राखिएको छ । यस्ता विषयलाई अनिवार्य गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । डिजिटल लिटरेसीको विषयमा केवल कसरी प्रयोग गर्ने भन्नेतर्फ बढी जोड दिइएको छ । शिक्षकहरुले अध्यापन गराउँदा यसलाई विस्तृत रुपमा यसको फाइदा बेफाइदाको बारेमा पनि सचेतना जगाउने क्रियाकलाप गर्नुपर्ने देखिन्छ ।
अहिले संशोधित एवम् परिवर्तित कक्षा ११ र १२ को पाठ्यक्रमको सामाजिक विषयमा डिजिटल लिटरेसीको सन्दर्भलाई पनि समावेश गरिएको छ । तर, यो वैकल्पिक विषय हो ।
अर्को कुरा डिजिटल लिटरेसीको कुरामा अविभावकहरु पनि जिम्मेवार हुनेपर्ने हुन्छ । आफ्नो बच्चाले के गर्दै छ, के कुरा हेर्दै छ भन्ने सन्दर्भमा हाम्रो भन्दा बढी भूमिका अभिभावककै हुने गर्दछ ।
उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु पनि व्यावसायिक गुणस्तरीय शिक्षाको अभावमा विदेशिनुपर्ने अवस्था छ, यसको निराकरणका लागि हाम्रो शैक्षिक प्रणालीमा कसरी सुधार गर्न सकिएला ?
आजको युगमा जीवन उपयोगी शिक्षा अति नै आवश्यक देखिन्छ । यसलाई पाठ्यक्रममा पनि धेरथोर समावेश गरिएको चाहिँ छ र यसमाथि गम्भीर निरीक्षणको भने खाँचो देखिन्छ ।
सामान्यत शिक्षामा प्रयोगात्मक र सैद्धान्तिक दुई पाटो हुने गर्दछन् । सैद्धान्तिक पाटो त स्कुल कलेज नै नआइकन अनलाइनको माध्यमबाट घरमै बसेर पनि सिक्न सकिन्छ । तर, प्रयोगात्मक पाटो भने त्यस्तो हुँदैन । यो प्रयोगमा केन्द्रित विधि हो । जसका लागि भौतिक रुपमा उपस्थिति जनाउँदा मात्र यो सम्भव देखिन्छ । आजको युगमा जीवन उपयोगी शिक्षा अति नै आवश्यक देखिन्छ । यसलाई पाठ्यक्रममा पनि धेरथोर समावेश गरिएको चाहिँ छ र यसमाथि गम्भीर निरीक्षणको भने खाँचो देखिन्छ । विद्यार्थीहरु कति मात्रामा आत्मनिर्भर भए या भनौँ आफ्नो निर्णय आफैँ लिन सक्ने भए कि भएनन् भन्ने सन्दर्भले परीक्षणपश्चात् मात्रै पूर्णता पाउने गर्दछ ।
व्यवस्थापन संकाय बाहेकका विद्यार्थीहरुलाई वित्तीय शिक्षाको कत्तिको आवश्यकता देख्नुहुन्छ र किन ?
वित्तीय ज्ञान वा व्यवस्थापनको अभावका कारण अरु संकायका साथीहरुभन्दा आफू चाहिँ आर्थिक हिसाबले पछि पर्ने गरेको धेरै उदाहरणहरु हामीबाट पासआउट भएर डक्टर, इन्जिनियर पेसामा आवद्ध विद्यार्थीहरुले बताउने गरेका पनि छन् ।
कतिपय त्यस्ता विद्यार्थीहरुले त अन्य व्यवस्थापन संकायको थप शिक्षा पनि लिने गरेको देखिएको छ । विगत कोभिड यता हाम्रा धेरै साइन्स फ्याकल्टीका शिक्षक, विद्यार्थीहरु पनि सेयर मार्केटमा इन्भल्व हुने गरेका छन् ।
अहिले त एमबिबिएस गरेकाहरुले पनि एमबिए र इएमबिए गर्न थालेका छन्, फाइनान्सियल म्यानेजमेन्ट र सपोर्टका लागि यस्तो गरेको बुझिन्छ । यसले आजको दिनमा वित्तीय साक्षरता सबैका लागि अनिवार्य छ भन्ने सन्दर्भ बुझाउँदछ । यसैलाई मध्यनजर गर्दै हामीले हाम्रा विज्ञान संकायका विद्यार्थीहरुलाई पनि बेलाबखत यस्ता साक्षरता कक्षा, व्यक्तित्व विकास, उद्यमशीलता, साइबर सुरक्षाका कक्षाहरु सञ्चालन गर्ने गरेका छौँ ।
हामीले हाम्रा विज्ञान संकायका विद्यार्थीहरुलाई पनि बेलाबखत यस्ता साक्षरता कक्षा, व्यक्तित्व विकास, उद्यमशीलता, साइबर सुरक्षाका कक्षाहरु सञ्चालन गर्ने गरेका छौँ ।
विद्यार्थीहरु डिजिटल रुपमा साक्षर नहुँदा सामान्य गल्तीले पनि वित्तीय अपराधका घटना हुने गरेको छ, यसप्रति यहाँको धारणा के छ ?
विद्यार्थीहरुलाई हामीले समयअनुसार टेक्नोलोजीहरु प्रयोग गर, सिक्नै पर्छ, जान्नै पर्छ, समयअनुसार परिवर्तन हुनै पर्छ भन्दै आएका छौँ । तर, अनावश्यक आर्थिक प्रलोभनमा परेर कुनै पनि बेटिङ, स्क्यामिङमा समावेश नहुनु भन्ने गरेका छौँ । के कुरा राइट हो, के कुरा रङ हो भन्ने कुरा बुझ्नु, सोधखोज गर्नु, आवश्यक सतर्कता अपनाउनु, कुनै पनि आफ्नो व्यक्तिगत इन्फरमेसन कसैलाई पनि सेयर नगर्नु भन्ने शिक्षा हामीले दिइराखेका छौँ। मोबाइल लगायतका ग्याजेटहरु अरुको सकभर प्रयोग नगर्नु र आफ्नो पनि अरुलाई प्रयोग गर्न नदिनु भनेर सम्झाउने काम पनि हामीले गरिरहेका छौँ ।
प्रविधिले हाम्रो दैनिक जीवनलाई सहज र समयानुकूल ढङ्गबाट अघि बढाउन मद्दत गरिरहेको त छ तर यसको समुचित प्रयोगको अभावमा विभिन्न खालका आपराधिक घटनाहरु घट्ने गरेका हुन् । तसर्थ, हरेक नागरिकले सचेतता अपनाउनु नै पर्छ । त्यसमा पनि विद्यार्थीहरु बौद्धिक परिपक्वताका दृष्टिले तुलनात्मक रुपमा अरु मानिसभन्दा कमजोर हुने हुनाले उनीहरुले शिक्षक, अभिभावक वा आफूभन्दा ठूलाबाट प्राप्त निर्देशनको परिपालना गर्दै गएमा यस्ता समस्याहरुको न्यूनीकरण गर्न सकिन्छ।
*The article was published in the 6th issue of the "Financial Literacy" Economic Monthly Magazine.








