शेयर बजार घटेसँगै शेयर बजारबाट उठ्ने लाभकर समेत स्वाट्टै घटेको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) का अनुसार असारको तुलनामा साउनमा ३७ प्रतिशतले पूँजीगत लाभकर कम उठेको छ।
गत असारमा ६४ करोड ९० लाख रुपैयाँ लाभकर उठेको थियो। तर साउनमा भने लाभकर ४० करोड ८ लाख रुपैयाँमा खुम्चिएको छ। जुन ३७.१२ प्रतिशत कम हो। साउनमा शेयर बजार घटेको कारण लाभकर समेत घटेको हो। असार महिनामा शेयर बजारमा तीव्र उतार चढाव देखिएको थियो। यद्यपि साउनमा सूचक ६३.९६ अंकले घटेको थियो। असार मसान्तमा २०९७.०९ अंकमा रहेको सूचक साउन मसान्तसम्म आइपुग्दा २०३३.१३ अंकमा झरेको थियो। साउन सकिए लगत्तै खुलेको बजार भदौमा समेत घट्दो क्रममा छ। भदौ लागे यता सूचक आइतबारसम्म २०११.१४ अंकमा झरिसकेको छ।
लाभकर कम उठ्दै गर्दा साउनमा सर्ट टर्म कारोबारबाट बढी लाभकर उठेको छ भने लङ टर्म कारोबारबाट कम लाभकर उठेको सिडिएससिले जनाएको छ। साउनमा सर्ट टर्म कारोबारबाट २२ करोड संकल हुँदा लङ टर्मबाट १८ करोड ३८ लाख रुपैयाँ संकलन भएको हो।






