आँखा चिम्लिएर गर्नु पर्ने अडलट (१० कित्ता भन्दा कम) काे कारोबार गत वर्ष थप बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वार्षिक विवरण अनुसार अडलट कारोबार बढेको देखिएको हो।
वार्षिक विवरण अनुसार गत आर्थिक वर्ष म्यानुअल र अडलट कारोबार २०.५७ प्रतिशतले बढेको छ। गत वर्ष मात्रै दुई अर्ब २७ करोड रुपैयाँ बराबरका एक करोड ७६ लाख कित्ता शेयर म्यानुअल तथा अडलट कारोबार भए। जुन अघिल्लो वर्ष भन्दा २०.५७ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस्तो कारोबार २६.७७ प्रतिशतले घटेको थियो।
अडलट कारोबार बढ्दै गए पनि यो के कारणले बढी रहेको भनेर नेप्सेले जाँच बुझ गर्ने गरेको छैन। खासगरि अर्काका नाममा शेयर भर्नेले बढी अडलट कारोबार गर्ने गरेका छन्। धितोपत्र निष्कासको नियम अनुसार आफ्ना एकाघरका बाहेक अरूको नाममा शेयर भर्न पाइँदैन। तर त्यसरी अर्काका नाममा शेयर भर्ने भने अझै घटेका छैनन्। किनकि भर्खरै प्राथमिक शेयर निष्कासन गरेर सूचीकृत भएका कम्पनीको समेत टन्नै अडलट कारोबार हुने गरेका छन्। यतिसम्मकी कारोबार सुरु भएकै दिन समेत अडलट कारोबार हुने गरेका छन्। जबकि कुनै पनि कम्पनीले शेयर बाँडफाँट गर्दा १० कित्ता भन्दा कम शेयर दिने गरेका छैनन्।






