पूर्वतयारीको चरण र मनोवैज्ञानिक तयारी
जसरी एउटी आमाले प्रशव पीडा झेल्छिन्, त्यसरी नै यो चरण निकै नै पीडादायी र जोखिमको अवस्था हो । यो चरण सफलताका लागि निकै महत्वपूर्ण पनि हुन्छ ।
यो अवस्थामा सम्भावित उम्मेदवार विभिन्न आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्याबाट गुज्रिन्छन् । समयमा उचित निर्णय, जोखिम बहन, आर्थिक र घरायसी समस्या व्यवस्थापन, उच्च मनोबल र रणनीति बनाएर अघि बढ्ने मान्छे नै सफल हुन्छ ।
हाम्रो समाजमा कुनै काम सुरु गर्नुपूर्व नै असफलताको परिकल्पना गर्ने र म असफल भएँ भने फलानोले के पो भन्ला भनेर दौडमै भाग नलिने चलन छ । मेरो एकजना गोल्डमेडलिस्ट साथीले भन्ने गर्नुहुन्छ, ‘दौडमा भाग लिने पो विजेता बन्लान् नि, दर्शक त कदापि विजेता बन्न सक्दैनन्, त्यसैले पहिला दौडमा भाग लिनुपर्छ,’ निरन्तर अध्ययन गरी प्रयास गरिरहे पक्कै सफल भइन्छ । अंग्रेजी साहित्यका कवि रबर्ट फ्रस्टले भनेजस्तैे सानातिनो रमाइलोमा भुल्नुहुँदैन, किनकि अझैँ मर्नुभन्दा पहिले धेरै माइल यात्रा गर्न बाँकी छ ।
प्रायः उम्मेदवार आफ्नो बौद्धिकता कम भएको र अरूको बढी भएको भ्रममा रुमलिन्छन् र डराउँछन् । आफ्नो क्षमतामा विश्वास गरेर पढ्नुपर्छ । मानसिकवादी मनावैज्ञानिकहरूका अनुसार कुनै पनि व्यक्तिको दिमाग व्यवहारवादीहरूले भनेजस्तो रित्तो गाग्री हुँदैन, न त घोकेर सिकाइ हुन्छ बरु हरेक व्यक्तिसँग सिर्जनशीलता हुन्छ, तर्क गर्ने, आन्तरिकीकरण गर्ने र विश्लेषण गरेर समस्या समाधान गर्ने अथाह क्षमता हुने भएकाले उचित अवसर पाउनासाथ सिकाइ भई सफल भइन्छ ।
पढाइ वा अभ्यासको चरण
यो चरणमा पाठ्यक्रम हेरी विभिन्न खालका सामग्री पढ्नुपर्छ, जस्तैः सरकारका आधिकारिक दस्ताबेज, इन्टरनेटमा उपलब्ध सामग्री र अन्य किताब ।
पढेको, देखेको सबै कुरा सम्झिने हो भने त अहिलेसम्म हाम्रो दिमाग विष्फोट भइसक्थ्यो । बिर्सने कारण छन्– अरुचिपूर्ण विषयवस्तुु, पुनरावृत्ति नहुनु, तनाव, आदि ।
पहाडको उचाइ वा तालको गहिराइ आदि सम्झिनका लागि खाना पकाउने ठाउँमा टाँसेर पढ्ने, अरूलाई भन्ने, गीत बनाएर गाउने आदि गर्दा बिर्सने सम्भावना निकै कम हुन्छ । बहुबौद्धिकताको सिद्धान्तका प्रणेता एवं हार्भड विश्वविद्यालयका प्राध्यापक गार्डनरका अनुसार हरेक व्यक्तिमा एकभन्दा बढी बौद्धिकता हुन्छन् जस्तैः गणितीय तथा तार्किक, सांगीतिक, भाषिक, शारीरिक वा खेललगायत ८ प्रकारका । त्यसैले, आफूलाई कमजोर नठानी जसको गणितीय पक्ष राम्रो छ, उसले सूत्र बनाएर पढ्ने, जसलाई गीत गाउन आउँछ, गीत बनाएर पढ्दा फलदायी हुन्छ ।
पढ्ने वेलामा अहिलेको ज्ञानको स्तरमा विस्तारै एक तह वृद्धि गर्दै पढ्नुपर्छ । एकैचोटी गाह्रो विषयवस्तु सिक्ने कोसिस गर्नुहुँदैन । जस्तै : जीवनमा कहिल्यै साइकल नचलाएको मान्छेले एकैचोटी दुई हात छोडेर चलाउन खोजे के हालत होला ? सामाजिक न्याय, बेरोजगारीजस्ता सजिला विषयवस्तुको परिभाषा घोक्नुहुँदैन, बरु दैनिक जीवनसँग जोडेर विश्लेषण गर्नुपर्छ । पुराना प्रश्नहरू हल गरी अनुभवीबाट पृष्ठपोषण लिनुपर्छ ।
पढ्दा परिवारको सहयोग जरुरी छ, जस्तैः श्रीमतीले पढ्दा श्रीमान्ले खाना पकाई, लुगा धोई, केटाकेटीको हेरचाह गरिदिँदा आकाश खस्दैन, बरु भविष्य सुखमय हुन्छ ।
पढाइपश्चात् वा प्रयोगको चरण








