दोस्रो बजारमा एक लघुवित्तको शेयर १०० रुपैयाँभन्दा कम मूल्यमा कारोबार भइरहेको छ। सर्वसाधारणलाई शेयर बिक्री गरेको तीन वर्षपछि कारोबारमा आएको समाज लघुवित्तको शेयर आधार मूल्य भन्दा कम मूल्यमा दोस्रो बजारमा कारोबार भइरहेको हो।
साउन २३ गते, मंगलबार समाज लघुवित्तको शेयर प्रतिकित्ता ६४ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। गत शुक्रबार अर्थात साउन १९ गते बोनस शेयर समायोजन भइ ६५ रुपैयाँ ५६ पैसा कायम भएको यस लघुवित्तको शेयरमूल्य यस दिन १.१६ प्रतिशत अर्थात ७६ पैसा घटेर ६४ रुपैयाँ ८० पैसामा कारोबार भएको छ। नेप्सेले गत बिहीबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यस लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको थियो।
अंकित मूल्यभन्दा कम मूल्यमा कारोबार भएपनि मार्केट डेप्थमा भने उल्लेख्य बाइ अर्डर देख्न सकिन्छ। यस समाचार तयार पार्दा सम्ममा १ लाख ८३ हजार कित्ताभन्दा बढी शेयर बाइ अर्डर छ। लगानीकर्ताले ६६ रुपैयाँ ८० पैसासम्म बाइ अर्डर देख्न सकिन्छ। सो मूल्यमा २३ हजार ७६३ कित्ता माग गरिएको छ।
लघुवित्तको शेयर कारोबार लामो समयदेखि रोक्का रहेको थियो। आईपीओ बाँडफाँट गरी दोस्रो बजारमा कारोबारमा आउनभन्दा अगाडि नै स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेकोले यस लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो। यी दुई लघुवित्तहरुको मर्जर सफल हुन नसकेपछि समाज लघुवित्तको शेयर कारोबार खुल्न सकेन।






