सिद्धार्थ बैंकको सन्तुलित वित्तीय विवरण : नाफासँगै वित्तीय अवस्थामा पनि सुधार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकको सन्तुलित वित्तीय विवरण  : नाफासँगै वित्तीय अवस्थामा पनि सुधार

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चौथो त्रैमासमा उल्लेखनीय प्रदर्शन गर्दै आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षमा रु. ३ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा रु. २८ करोड ७६ लाख अर्थात् ९.९१% को वृद्धि हो । बैंकको वितरणयोग्य नाफा रु. ७९ करोड ५७ लाख रहेको छ । यस वर्षको नाफाबाट रु. १ अर्ब ४६ करोड ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गरेको कारण वितरणयोग्य नाफामा कमी देखिएको हो ।

फलस्वरुप प्रकासित वित्तीय विवरणमा ५.६५% लाभांश वितरण गर्ने क्षमता देखिए तापनि सो कोषमा छुट्टाइएको रकमलाई समायोजन गर्दा बैंकको वास्तविक वितरणयोग्य नाफा १६% रहेको देखिन्छ । बैंकले जारी गरेको ऋणपत्रको लागि आफ्नो नाफाबाट प्रत्येक वर्ष निश्चित रकम विनियोजन गर्नपर्ने हुन्छ र यसरी विनियोजीत रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई बोनस शेयरको रुपमा वितरण गर्न सकिन्छ । यसर्थ, हाललाई वितरणयोग्य नाफा गणना गर्दा उक्त रकम वितरणयोग्य नाफाबाट घटाइए तापनि ऋणपत्र परिपक्व भए पछि पूँजी फिर्ता जगेडा कोषमा विनियोजीत रकम शेयरधनीलाई नै लाभांशको रुपमा वितरण गर्ने गरिन्छ । तसर्थ बैंकको वास्तविक वितरणयोग्य नाफा रु. २ अर्ब २५ करोड अर्थात १६% देखीन आउछ । यसरी विनियोजन गरेको रकमले बैंकको पूँजी तथा जगेडा कोष मजबुत बनाउँदछ ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पूँजी रु. १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष रु. ११ अर्व ३७ करोड रहेको छ । बैंकको इक्विटि रु. २५ अर्व ४६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षमा रु. २१ अर्ब ५९ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा मात्रै रु. ३ अर्ब ८६ करोड अर्थात् १७.९% ले इक्विटि वृद्धि गर्दै बैंकलाई थप मजबुत बनाएको छ ।

बैंकले कर्जा नोक्सानी व्यवस्था वापत इम्पेयरमेन्ट चार्ज अन्तर्गत रु. १ अर्ब १२ करोड यस वर्ष मात्रै खर्च लेखाङ्कन गरेको छ । यसका वाबजुत पनि बैंकको खुद व्याज आम्दानी र शुल्क तथा कमिशन आम्दानीमा भएको वृद्धिले गर्दा खुद नाफा रु. २९ करोडले वृद्धि भएको छ । बैंकको खुद व्याज आम्दानी अघिल्लो आर्थिक वर्षमा भन्दा करिब २४% अर्थात रु. १ अर्ब ५८ करोडले बढेर रु. ८ अर्ब १७ करोड आर्जन गर्न सफल भएको छ । त्यसै गरी गत आर्थिक वर्षमा खुद शुल्क तथा कमिशन आम्दानी करिब १२% (रु. १४ करोड) ले वृद्धि भई रु. १ अर्ब ३६ करोड कमाएको छ । बैंकको खुद व्यापारिक आम्दानी तथा अन्य संचालन आम्दानीमा भने अघिल्लो आर्थिक वर्षको तुलनामा कमी आएको छ ।

यस अन्तर्गत मुख्यतया विदेशी विनिमय सम्बन्धीत आम्दानी तथा शेयर लगानी गर्दा प्राप्त हुने लाभांश आम्दानी पर्दछ । गत आर्थिक वर्षको एघार महिनामा देशको आयातमा १६% ले कमी आएको छ र यसले गर्दा बैंकको विदेशी विनिमय सम्बन्धीत आम्दानीमा प्रभाव पारेको देखिन्छ । त्यस्तै, देशको पूँजी बजारमा परेको प्रभावले गर्दा बैंकको लाभांश आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको छ । बैंकको कर्मचारी तथा अन्य संचालन खर्च रु. ३४ करोडले वृद्धि भए तापनि संचालन मुनाफा करिब रु. ४२ करोड (१०%)ले वृद्धि भई रु.४ अर्व ६८ करोड आर्जन गरेको छ । बैंकले चौथो त्रैमासमा उल्लेखनीय प्रदर्शन गर्दै अघिल्ला तीन त्रैमाससम्म आर्जन गरेको खुद नाफाभन्दा चौथो त्रैमासमा मात्र आर्जन गरेको खुद नाफा बढि रहेको छ । 

बैंकले गत आर्थिक वर्षमा ग्राहकको निक्षेपमा रु. ३२ अर्ब १० करोडले उल्लेख्य वृद्धि गरी रु. २२३ अर्ब ६५ करोड पुर्याउन सफल भएको छ । गत आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १२.२% ले वृद्धि भएको छ भने सिद्धार्थ बैंकको गत आर्थिक वर्षमा १६.७६% ले वद्धि भएको देखिन्छ । बैंकको कर्जा तथा सापट सामान्य २.२८% ले वृद्धि भई रु. १८९ अर्ब २१ करोड पुगेको छ ।

प्रतिकूल बजार अवस्थाका कारण बैंकको निष्कृय कर्जामा केही वृद्धि भई २.०१% पुगेको छ जुन गत आर्थिक वर्ष १.०७% रहेको थियो । अघिल्लो तेस्रो त्रैमासमा ३.९५५ रहेको निष्कृय कर्जा अनुपातमा उल्लेख्य सुधार गर्दै १.९४% ले कमी आएको छ । बैंकको गैर बैंकिङ्ग सम्पत्ति रु. ६५ करोड पुगेको छ जुन गत आर्थिक वर्ष रु. २१ करोड मात्र रहेको थियो । गैर बैंकिङ्ग सम्पत्ति सकार गरेको कारणले पनि बैंकको निष्कृय कर्जामा कमी आएको हो ।

खुद नाफामा भएको वृद्धिले गर्दा बैंकको प्रति शेयर आम्दानी वृद्धि भई रु. २२.६४ पुगेको छ भने पूंजिमा प्रतिफल (रिटर्न अन इक्विटि) १३.५६% रहेको छ जुन गत आर्थिक वर्षको १३.८२% को तुलनामा झिनो अन्तरले घटेको देखिन्छ । बैंकको प्रति शेयर नेटवर्थ रु. १८०.७३ छ । सोही अवधिमा बैंकको पुँजीकोष अनुपात १२.५३% रहेको छ । निक्षेपमा भएको वृद्धि संगै बैंकको कर्जा निक्षेप अनुपात ७७.१६% रहेको छ र कोषको लागत ७.८२% रहेको छ । उक्त अवधिमा बैंकको आधार दर ९.९१% रहेको छ ।

बैंकले International Finance Corporation (IFC) बाट वैदेशिक ऋण वापत रु. ५ करोड ५० लाख अमेरिकी डलर प्राप्त गरेको छ जुन उक्त संस्थाले नेपालमा प्रदान गरेको रकम हाल सम्मकै उच्च हो । हालै मात्र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघद्धारा बैंकलाई लगातार दोस्रो पटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानीत गरेको छ । यसको साथै दक्षिण एसियाली एकाउन्टेन्टस् संघले आयोजना गर्ने दक्षिण एसियाली राष्ट्रहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रतिस्पर्धाको लागि छनौट भई नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बैंकले जनाएको छ । 

 

  • MBL - below news
  • EBL Ad news