आई.एम.ई लाइफ इन्स्योरेन्सद्वारा छैटौ बाषिकोत्सवको अवसरमा जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसंग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ । उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय श्री सन्तोष शाक्य र श्री सुकान्ति शाहले स्वस्थ जीवनयापनकोलागि आवश्यक चार सुनौला पक्ष सन्तुलित भोजन, सक्रिय जीवनशैली , तनावरहित वातावरण र धुम्रपान मद्यपानरहित जीवनशैलीको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले मधुमेह, थाइराइड, मोटोपन आदि रोगसंग सम्बन्धित आफ्ना जिज्ञासा डाक्टरद्वय समक्ष राखी उक्त समस्याहरु बारे पनि बृहतरुपमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले आई. एम. ई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत सक्रिय भूमिका निभाउँदै स्वस्थ समाजको परिकल्पना गरेको बताउनु भयो । त्यसैगरी आउँदा दिनहरुमा विभिन्न सामाजिक उत्तरदायित्व वहन गरी अन्य कार्यक्रमहरु समेत सफलतापूर्वक आयोजना गरी छैटौ बाषिकोत्सव सम्पन्न गर्ने कम्पनीको उद्देश्य रहेको छ ।








