अघिल्लो आईतबारसम्म शेयर बजारमा सामान्य रुपमा नै कारोबार भइरहेको थियो। कारोबार समय चल्दाचल्दै राष्ट्र बैंकले वेवसाईट मार्फत माौद्रिक नीति सार्वजनिक गर्यो। त्यसमा शेयर बजारलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने शेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गरिने भन्ने कुरा उल्लेख थियो।
मौद्रिक नीतिमा शेयर धितो कर्जाको कुनै सीमा उल्लेख नभएकाले लगानीकर्ताले बुझे कि १२ करोडसम्मकै शेयर धितो कर्जाको जोखिम भार घट्छ।
तीन बज्नु भन्दा अगाडिको समयमा लगानीकर्ताहरुले उत्साहित भएर कारोबार गरे र धेरै कम्पनीको शेयरको भाउ बढ्यो, कतिपय कम्पनीको शेयरको भाउ त १० प्रतिशतसम्मले बढ्यो। मौद्रिक नीतिले राम्रै गर्यो भन्ने आँकलनमा लगानीकर्ताहरुले सकारात्मक प्रतिक्रिया जनाए। यद्यपी १२ करोडको सीमा राष्ट्र बैंकले हटाईदिन्छ भन्ने केही लगानीकर्ताको अपेक्षा थियो, त्यसलाई राष्ट्र बैंकले छुदै छोएन।
जब कारोबार समय सकियो तब राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्यो र शेयर धितो कर्जाको ५० लाखसम्मको सीमामा मात्र जोखिम भार १५० प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिएको हो भन्ने प्रष्टिकरण आयो। यसले ठूला खाले कर्जा उपयोग गर्ने लगानीकर्ताहरुमा नैराश्यता सिर्जना गर्यो र भोलिपल्टदेखि नै बजारले प्रतिक्रिया जनाउन थाल्यो। त्यही पृष्ठभुमिमा शेयर बजार अहिलेसम्म प्रभावित भईरहेको छ। ब्याज दर घटाउने गरी राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेका कुराले बजारमा सकारात्मक प्रभाव पार्न नसकेको अवस्था छ।
अर्थ मन्त्रालय र राष्ट्र बैंक दुबै शेयरको भाउ अचाक्ली बढोस्, घरजग्गाको भाउ बढेर जाओस अनि गाडी लगायतका विलासिताका वस्तुहरुको आयात ह्वात्तै बढेर जाओस भन्ने पक्षमा छैनन् भन्ने स्पष्ट देखिएको छ र ठूला खाले कर्जाहरुको बिस्तारमा कडाई गर्न सहमत छन्। उपलब्ध वित्तीय स्रोत एकै व्यक्ति र समूहमा केन्द्रित हुन नपाओस, घर, गाडी, शेयर बजार र आयाततर्फ त्यो नमोडियोस भन्नेमा यी दुबै पक्ष बहुत सतर्क छन्। वित्तीय नीति र मौद्रिक नीतिको सामन्जस्यता यसपल्ट राम्रैसँग कायम भएको देखियो। यो कसरी सम्भव भयो भने बजेट बक्तव्य लेख्ने र मौद्रिक नीति लेख्ने दुबै ठाउँमा राष्ट्र बैंकका जिम्मेवार अधिकारी नै थिए। तर राष्ट्र बैंकको तौर तरिका केही नमिलेको पक्कै हो।






