काठमाडौं : सेयर बजारको गिरावट बुधबार पनि जारी छ । यस दिन नेप्से सूचक ८.११ अंकले घटेर २१५६.२० अंकमा आएको छ । २ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार बजार नथामिए पनि घट्नेक्रम भने साँघुरो भएको छ । प्यानिक सेल कम हुँदा कारोबार रकम पनि घटेको छ ।
यसअघि सोमबार सूचक २५.६६ अंकले घटेको थियो । यस्तै, मंगबार ३६.१९ विन्दुले तल झरेको थियो । तर बुधबार भने सूचक एकल अंकले मात्र घटेको छ । यसले विस्तारै प्यानिक सेल कम हुँदै गएको अनुमान लगाउन सकिन्छ । यद्यपि, बजारको आगामी यात्रा भने मौद्रिक नीति कार्यान्वयनको सर्कुलर जारी गरेपछि मात्र तय हुने जानकारहरु बताउँछन् ।






