सुवास निरौला
शेयर बजारमा शेयर खरिद गर्न बैंक खातामा पैसा नभए पनि शेयर खरिद गर्न सकिन्छ। ब्रोकर कम्पनीले दिएको लिमिटको आधारमा जति रकमको शेयर किने पनि लगानीकर्तालाई केही फरक पर्दैन। भलै ब्रोकर कम्पनीलाई दुई /चार दिन ढिलो पैसा दिन्छु भनेर मनाउन सके कुनै हर्जाना तिर्नु पर्दैन।
तर शेयर बिक्री गर्दा भने लगानीकर्ताले होस पुर्याउनु पर्छ। खातामा नभएको शेयर बिक्री गर्न पाइँदैन। नत्र जरिवाना तिर्नु पर्छ। जसलाई शेयर बजारको भाषामा क्लोज आउट भन्ने गरिन्छ। त्यसरी क्लोज आउटमा पर्दा बिक्रीकर्ताले कारोबार गरेको शेयर रकमको २० प्रतिशतले हुन आउने रकम जरिवाना स्वरूप तिर्नु पर्ने हुन्छ।
खातामा नभएको शेयर बिक्री गर्दा जरिवाना तिर्नुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि त्यस्तो कारोबार गर्ने लगानीकर्ता भने अझै छन्। गत वर्ष मात्रै खातामा नभएको शेयर विक्री गरेकै कारण लगानीकर्ताले चार करोड १७ हजार रुपैयाँ जरिवना तिरे। अघिल्लो वर्ष अझै त्यो भन्दा बढी लगानीकर्ताले जरिवाना तिरेका थिए। केन्द्रीय निक्षेप प्रणाली सिडिएससिका अनुसार अघिल्लो वर्ष त्यस्तो जरिवाना ९ करोड ७८ लाख रुपैयाँ तिराइएको थियो। जुन गत वर्ष भन्दा बढी हो। अघिल्लो वर्षको तुलनामा गत वर्ष ५९.१३ प्रतिशतले जरिवाना रकम भने घटेको छ।
शेयर बजार बढ्दो क्रममा रहेका बेला क्लोज आउट बढ्ने गर्छ भने शेयर बजार तल्लो बिन्दुमा रहँदा घट्ने गर्छ। सोही कारण पनि गत वर्ष क्लोज आउट मार्फत हुने जरिवाना रकम घटेको अनुमान सिडिएससिको छ। गत वर्ष कारोबारसँगै पूँजीगत लाभकर समेत घटेको थियो। गत वर्ष चार खर्ब ६७ अर्ब रुपैयाँ बराबरका शेयर खरिद बिक्री भए। जुन अघिल्लो वर्ष भन्दा ६१.१४ प्रतिशत कम हो। अघिल्लो वर्ष १२ खर्ब रुपैयाँ बराबरका शेयर किन/बेच भएका थिए।
गत वर्ष सरकारले दुई अर्ब ९७ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त गर्यो। जबकि अघिल्लाे बर्ष सोही अवधिमा १० अर्ब ३५ करोड रुपैयाँ सरकारले प्राप्त गरेको थियो। जुन अघिल्लो वर्ष भन्दा ७१.३१ प्रतिशत कम हो। कारोबार रकम सँगै पूँजीगत लाभकर घटेको कारण क्लोज आउट घटेको विश्लेषण गरिएको छ।






