नेपाल बीमा प्राधिकरणले लाइसेन्स वितरण गरेपछि लघु बीमा कम्पनीहरुले व्यवसायिक कारोबार शुरु गर्न थालेका छन् । हालसम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो व्यवसायिक कारोबार शुरु गरिसकेका छन् ।
बीमा प्राधिकरणबाट लाइसेन्स पाइसेकेका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले पनि व्यवसायिक कारोबार थाल्ने तयारी गरेका छन् । प्राधिकरणबाट आशयपत्र पाए पनि लिबर्टी माइक्रो लाइफ, ट्रष्ट माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सले भने पूँजी जुटाउन सकेका छैनन् ।
प्राधिकरणले लघुबीमा कम्पनी स्थापनाको लागि बाटो खुलाउँदै गत भदौ ६ गते लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो । निर्देशिका अनुसार लघुबीमा कम्पनीको चुक्ता पूँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनु पर्नेछ ।
यस्तै लघु बीमा कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनु पर्ने र चुक्ता पूँजीको न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । कम्पनीमा संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत शेयर हुनु पर्ने निर्देशिकामा व्यवस्था छ ।
लघुबीमा निर्देशिका अनुसार सात वटा लघु बीमा कम्पनीहरुले साढे १ अर्ब बढीको आईपीओ निष्काशन गर्नेछ । प्रत्येक कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोडको न्यूनतम ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरका दरले सो बराबरको आईपीओ निष्काशन गर्नेछ ।






