काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ सबै आवेदकहरूले पाउने भएका छन् । कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म ६ लाख ७३ हजार ८३९ जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट २ करोड ५४ लाख २० हजार ३२० कित्ता आईपीओ खरीद माग भएको हो । कित्ताको हिसाबमा मागभन्दा करीब ३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको आईपीओ आवेदक संख्याको हिसाबमा बाँडफाँट हुनेछ । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यसहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री गरेको हो । पछिल्लो बाँडफाँट व्यवस्था अनुसार कम्पनीको आईपीओ ६ लाख ९१ हजार १६७ जनाले १० कित्ताका दरले पाउने थिए । तर, कम्पनीको आईपीओ खरीदका लागि योभन्दा कम संख्यामा आवेदकहरू रहेका छन् । सबै आवेदक योग्य भएमा सबै आवेदकहरूले १० कित्ता शेयर पाउनेछन् भने केही आवेदकहरूले २० कित्तासम्म शेयर हात पार्नेछन् ।






