ब्रोकर र लगानीकर्ताको टिएमएसमा बैंक खाता जोड्नु पर्ने माग, नेप्से भन्छ-'नियम छैन'


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्रोकर र लगानीकर्ताको टिएमएसमा बैंक खाता जोड्नु पर्ने माग, नेप्से भन्छ-'नियम छैन'

लगानीकर्ता र ब्रोकर कम्पनीहरूले शेयर कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैंक खाता जोड्नु पर्ने माग गर्दै आएको निकै समय भयो। तर अहिलेसम्म उक्त विषयले निकास पाउन सकेको छैन।

जसले गर्दा पछिल्लो समय ब्रोकर कम्पनीहरूको उधारो चुलिँदै जाँदा व्यवसाय नै चलाउन समस्या पर्दै गइरहेको बताउँछन्। उधारोमा शेयर किन्न पाउने व्यवस्थाकै कारण अहिलेसम्म बैंकलाई टिएमएसमा जोड्न सकिएको छैन। त्यसको लागि धितोपत्र बोर्ड र नेप्सेले गम्भीरतापूर्वक लिनु पर्छ। उनीहरूले पहल नगरी उक्त समस्या हट्दैन। तर धितोपत्र बोर्ड र नेप्सेले भने उक्त कार्य गर्न कुनै चासो दिएका छैनन्।

“शेयर बजार बढ्ने बित्तिकै लगानीकर्ताहरू शेयर किन्न तम्सिन्छन्। शेयर किन्न तम्सिएका लगानीकर्ताले भनेकै आधारमा उनीहरूलाई हामीले लिमिट दिन्छौ। तर शेयर बजार बढेको बेला आफ्नो क्षमता भन्दा बढी शेयर लगानीकर्ताले किनिदिन्छन्। जब सेटलमेन्ट गर्ने दिन आउँछ लगानीकर्ता फोन स्विच अफ गरेर बसिदिन्छन्। न त उनीहरूले किनेको शेयर तत्कालै बिक्री नै गर्न मिल्छ, बाध्य भएर हामीले आफै पैसा तिरेर सेटल गर्नु पर्ने हुन्छ। यस्तो अवस्था अहिले मात्रै होइन धेरै पटक आउँछ। तर त्यसको समाधान अहिलेसम्म हुन सकेको छैन,” एक ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।

उनका अनुसार यसको समाधान भनेकै बैंकसँग टिएमएस जोड्नु नै हो। टिएमएसमा बैंक जोडियो भने बैंकमा जति रकम छ त्यतिकै मात्रै शेयर किन्न पाइने अवस्था हुने थियो। आफ्नो क्षमता भन्दा बढी शेयर किन्ने आट पनि लगानीकर्ताले गर्ने थिएनन्। जसले सबै समस्याको समाधान गर्छ।

तर शेयर कारोबारको लागि टिएमएस उपलब्ध गराउने नेपाल स्टक एक्सचेन्ज भने अहिले कै अवस्थामा बैंक जोड्न नसकिने बताउँछ। उसका अनुसार कारोबारको नियममै लगानीकर्तासँग २५ प्रतिशत रकम लिएर ७५ प्रतिशत थप रकमको शेयर किन्न दिनु भन्ने नियम छ। जसले गर्दा जति बैंकमा रकम छ। त्यति नै रकमको मात्रै शेयर किन्न दिँदा नियम विपरीत हुन जान्छ। जसले गर्दा टिएमएसमा अहिले नै बैंक जोड्न नसकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।

Read More
  • EBL Ad news