काठमाडौं : घोराही सिमेन्टको आइपीओमा करिब २ लाख कित्ताका लागि परेको आवेदन घटेको छ । आइतबार साँझ ५ः०७ बजेसम्ममा ६ लाख ३१ हजार ३२८ जना आवेदकले २ करोड ४७ लाख ४३ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन् । यद्दपि, यो आवेदन शुक्रबारको तुलनामा १ लाख ९५ हजार ७० कित्ताले थोरै हो । शुक्रबार साँझसम्ममा भने ५ लाख ७६ हजार ८१ जना आवेदकले २ करोड ४९ लाख ३८ हजार ६७० कित्ताका लागि आवेदन दिएका थिए ।
यसअघि स्थगित भएको घोरहीको आइपीओ शुक्रबारदेखि पुनः खुला भएको हो । यसअघि आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने व्यवस्था गरिएको छ । स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए । यो हिसाबलाई आंकलन गर्दा शुक्रबार थप १३ हजार ८९९ जनाले २३ लाख १९ हजार ९०० कित्ताका लागि आवेदन दिएका थिए ।






