आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा करिब साढे ९ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जना आवेदकबाट २ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ बराबरको १ करोड १७ लाख ६९ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ९६ लाख कित्ता शेयरको १.१२ गुणा बढी हुन आउँछ ।
आइएमई लाइफले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरिसकिएको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता सस्थाका कर्मचारीहरुलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।
सर्वसाधारण लगानीकर्ताहरुले कम्पनीको आईपीओमा भोलि (असार २५ गते) सम्ममा आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।






