काठमाडौं : सेयर बजार फेरि सकारात्मक लयमा फर्किएको छ । यस दिन नेप्से सूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि गत साता नेप्से २ दिन लगातार घटेको थियो । तर आइतबार बजार पुनः वृद्धिको क्रममा देखियो । अब विस्तारै असार मसान्तको प्रभाव कम हुँदै जाने संकेत देखिएको छ । धेरै जसो लगानीकर्ताले मसान्तको साँवा–ब्याज तिर्न रकम जोहो गरिसकेको अनुमान गरिएको छ ।
अधिकांश लगानीकर्ताले यसअघि बजार बढेकै बेला सेयर बेचेर पैसा व्यवस्थापन गरिसकेका छन् । यसकारण पनि असारको अन्तिम दिनहरुमा सेलिङ प्रेसर कम हुँदै जाने आँकलन हुन थालेको हो । त्यसो त अब २–३ दिनपछि त सेयर बेचेर पनि पैसा खातामा आउन भ्याउँदैन ।






