बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ निष्काशन गर्न झमेला देखिएपछि पछिल्लो समय धेरै कम्पनीहरु प्रिमियममा आइपीओ निष्काशन गर्न तम्सिएका छन् । चालु आवमा धेरै कम्पनीहरुले प्रिमियम मूल्यमा शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।
अहिलेसम्म बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्काशन गर्ने भनेर निवेदन दिएको सर्वोत्तम सिमेन्टकोे निष्काशन प्रक्रियामा गोल्डेन शेयर हात पारेको आरोप लागेपछि धितोपत्र बोर्डका पूर्व अध्यक्ष भिष्मराज ढुंगानालाई पदमुक्त गरिएका थिए । नेपाल स्टक एक्सचेन्जका पूर्व महाप्रबन्धक चन्द्र सिंंह साउदले पनि सोही प्रकरणका कारण पदबाट राजीनामा दिएका थिए । ढुंगाना पदमुक्त गरिएपछि नियुक्त बोर्ड अध्यक्ष नियुक्त भएका रमेश हमालले पनि बुक बिल्डिङ प्रक्रियाबाट शेयर निष्काशन गर्ने प्रक्रियालाई अगाडि बढाउन पहल गरे । तत्कालीन समयमा शेयर बजार उच्च विन्दुमा हुँदा गरिएको मूल्यांकन समय सान्दर्भिक नभएको भन्दै बोर्डले पुनः योग्य संस्थागत लगानीकर्ताबाट पु्नः मूल्य आह्वान प्रक्रियामै अल्झिएको छ । बुक बिल्डिङ विधिबाटै शेयर निष्काशन गर्ने भनेर रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले पनि आवेदन दिएको छ । वास्तविक क्षेत्रका कम्पनीहरु पुँजी बजारमा भित्रुयाउने बिधिको रुपमा हेरिएको बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन हुन सहज नभएपछि धेरै कम्पनीहरु प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न तल्लीन रहेको धितोबोर्डका उच्च अधिकारीले बताए ।
चालु आवमा मात्रै नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न ७ वटा कम्पनीलाई अनुमति प्रदान गरिसकेको छ । बोर्डले घोराही सिमेन्टलाई ७५ लाख ४६ हजार ४ सय ११ कित्ता शेयर ३ सय ३५ रुपैयाँ प्रिमियम थपेर ४ सय ३५ रुपैयाँमा आइपीओ निष्काशन गरेको थियो । स्थानीयको सवालमा भने ३ सय मात्रै प्रिमियम थपेर ४ सय रुपैयाँमा शेयर निष्काशन गरिएको थियो । कम्पनीको आइपीओ निष्काशनमा रकम नभएको बैंक खाताबाट अत्यधिक शेयर आवेदन गरेर धेरै गुणा माग देखाएको तथा कम्पनीको क्रेडिट रेटिङमा शंका लगाउँदै बोर्डले अहिले आइपीओ रोक्का राखेको छ । ठूला लगानीकर्ताको कारण अहिले साना लगानीकर्ताको झन्डै ५ अर्ब भन्दा बढी रकम ब्लक भएको अवस्था छ । घोराहीमा ठूलो रकम ब्लक हुँदा त्यसपछि आएका आइपीओमा आवेदन दिन समस्या परेको साना लगानीकर्ताहरुले गुनासो गर्दै आएका छन् । घोराहीपछि थ्रि स्टार हाइड्रोपावर, अप्पर स्याङगे हाइड्रोपावर र बुधबारबाट आईएमई लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन भएको छ ।






