१७ असार, काठमाडौं । गएको साता नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार पाँच दिनबाट घटेर चार दिनमात्रै भयो । बिहीबार मुस्लिम धर्मावलम्बीहरुको चाड ईदको बिदा परेकाले सो दिन कारोबार भएन ।
दिनका हिसाबले नेप्सेमा कम कारोबार भए पनि परिसूचक र रकममा भने उच्च वृद्धि देखियो । खासगरी वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर पनि घट्दै गएको खबरले लगानीकर्तामा उत्साह देखिएको छ ।
गएको साताको चार दिनको कारोबारमा नेप्से परिसूचक करिब ५ प्रतिशत (९५ दशमलव ४६ बिन्दु)ले वृद्धि भई २१५० दशमलव ९९ बिन्दुमा बन्द भएको छ । साताका तीन कारोबार दिन नेप्से बढ्यो भने एक दिन घटेको थियो । साताको पहिलो दिन आइतवार सेयर बजार उत्साहजनक रुपमा ६२ दशमलव २१ बिन्दुले बढेको थियो ।






