उद्योगपति पवन कुमार गोल्यानले कृषिमा आक्रामक लगानी विस्तार गर्ने योजनासहित अन्य उद्योगी व्यवसायीहरुसँगको साझेदारीमा ५ अर्बको पब्लिक कम्पनी खडा गरेका छन् । गोल्यानले आफ्नो नेतृत्वमा देशका प्रतिष्ठित उद्योगी व्यवसायीहरुसँगको सहकार्यमा ‘जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड’ नामक कृषि कम्पनी दर्ता गरेका हुन् ।
यो कम्पनीले ‘एग्रिकल्चर सेक्टर’को बृहत व्यवसायीकरणको लक्ष्य लिएको छ । कृषि, वन तथा प्राकृतिक उत्पादन तथा उपभोगको परिपूर्ति गर्न यसको आधुनिकीकरण, गुणस्तर वृद्धि र प्रभावकारी बजारीकरण यस कम्पनीको मुख्य लक्ष्य रहेको छ । कम्पनीका संस्थापक उद्योगी कमलेश अग्रवालका अनुसार कम्पनीलाई देशकै कृषि अर्थतन्त्रको विकासका लागि नेपालकै सबैभन्दा ठूलो कृषि कम्पनीका रुपमा विकास गरिने लक्ष्य लिइएको छ ।





