काठमाडौं : आइपीओ जारी गर्ने हाइड्रोपावर कम्पनीको संख्या ह्वातै बढेपछि लगानीकर्ताले यस्ता कम्पनीमा छानिरोजी सेयर खरिद गर्न पाएका छन् । तर कुनै समय बजारमा आफ्नो वर्चस्व जमाएका र लगानीका लागि पहिलो रोजाइमा पर्ने गरेका बैंक तथा बिमा कम्पनीहरुको संख्या भने निरन्तर घट्दोक्रममा छ ।
यद्यपि, यिनीहरुको संख्या घटे पनि बजार पुँजीकरणमा हिस्सा भने अझै पनि धेरै छ । नियामक निकायहरु नेपाल राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरणले यी समूहका कम्पनीहरुलाई चुक्ता पुँजी बढाउन दबाब दिँदा कम्पनीहरु मर्ज तथा एक्विजिसनमा जान बाध्य भए । यसैकारण बैंक र बिमा कम्पनीहरुको संख्या घटेको हो । बिमा प्रधिकरणले जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीवनलाई साढे २ अर्ब पुँजी पुर्याउन निर्देशन दिएको छ ।






