काठमाडौं : सेयर बजारमा सोमबार झिनो अंकको गिरावट आएको छ । सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगातार ९ दिन बढेपछि नेप्सेमा सोमबार सामान्य करेक्सन आएको हो ।
त्यसो त नेप्सेले सोमबार इन्ट्रा डेमा २१ सय विन्दुको मनोवैज्ञानिक रेखा क्रस गर्न सफल भयो । बजार खुल्ने बित्तिकै सूचक २१ सय विन्दुमाथि पुगेको थियो । तर यसरी बजारले माथिल्लो विन्दु तय गर्ने बित्तिकै ट्रेडरहरु हावी भइहाले । उनीहरुले प्रोफिट बुक गर्न लाग्दा फेरि सूचकले केही दबाबको सामना गर्नुपर्यो । फलस्वरुपः नेप्से सूचक पुनः २१ सय विन्दुभन्दा तल झर्यो ।
समग्रमा सोमबार दिनभर सूचक उतारचढाव भइरह्यो । एकातिर क्रेताहरु हावी हुँदा बजार माथितिर जाने पटकपटक पहल गर्यो । फेरि, त्यही बेला नाफा बुक गर्न चाहने अल्पकालीन कारोबारीहरु पनि उत्तिकै सक्रिय रहे । यसरी कारोबार अवधिभर क्रेता र बिक्रेताबीच राम्रैसँग घम्साघम्सी चलेको देख्न सकिन्थ्यो ।






