काठमाडौं : प्रिमियम भाउमा खुला भएको घोराही सिमेन्टको आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार ३ गते) साँझ ५ः०५ बजेसम्ममा ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.४९ गुणा बढी आवेदन हो ।
कम्पनीले जेठ ३२ गते देखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपीओ खुला गरेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।






