काठमाडौं : बैंक तथा वित्तीय संस्थाको कर्मचारी भन्दै अपरिचित व्यक्तिले ग्राहकको विवरण फोनबाट मागेर खाता ह्याक गरी रकम चोर्ने घटना बढ्न थालेको छ। यसर्थ विद्युतीय भुक्तानी उपकरण प्रयोगमा आम सर्वसाधारण बढी सचेत हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले यस्तो घटनाको गुनासो आएका र पछिल्लो समय डिजिटल बैंकिङमा यस्ता कारोबारमा ठगी गर्नेहरू देखिएको जनाएको छ।
अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ-इन्टरनेट बैंकिङ-कनेक्ट आईपिएस-वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्याई ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवम् वालेटमा रकमान्तर गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकले जनाएको छ। विगत केही समयदेखि अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भन्दै सर्वसाधारणको गोप्य विवरण मागेर खाताको रकम चोर्ने काम भएकोले यसमा चनाखो हुन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको हो। राष्ट्र बैंकसमक्ष यस्तो गुनासो आएपछि बिहीबार सूचना जारी गर्दै आफ्ना विवरण सुरक्षित राख्न सजग गरिएको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताए।








