काठमाडौं : सेयर बजारमा बिहीबार दिनभर उचारचढाव देखियो । सूचक कहिले दोहोरो अंकले बढ्ने त फेरि केहीबेरमा सोही हिसाबले घट्ने गर्यो । क्रेता र बिक्रेताबीच घम्साघम्सी चल्दा बजारले निश्चित बाटो समाउन नसकेको देखियो । कुनै बेला क्रेता पक्ष हावी हुने र सोही अनुसार नेप्से बढेको पाइयो भने फेरि एकैछिनमा बिक्रेता हावी भए, फलस्वरुपः बजार रातो भयो ।
यसरी घम्साघम्सीको बाबजुत अन्तततः बजार हरियै भएर बन्द भयो । यस दिन नेप्से सूचक ५ अंकले बढेर २०४२।०७ विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।






